प्रदेश २ मन्त्रिपरिषद् बैठक: हावाहुरीबाट मृत्यु भएका मृतकका परिवारलाई तीन लाख दिने निर्णय

धनुषा- प्रदेश नं २ को मन्त्रिपरिषद्को बैठकले बारा र पर्सामा गएराती आएको हावाहुरीबाट ज्यान गुमाएका मृतक परिवारलाई तत्कालीन राहतस्वस्प तीन लाख रुपैयाँ प्रदान गर्ने भएको छ । बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै मन्त्रिपरिषद्को आकस्मिक बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाको वासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने बैठकले निर्णय समेत गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रत्येक मृतकलाई तीन लाखका दरले तत्कालीन राहत दिने निर्णय गरेको जानकारी गराउनुभयो । गए राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २७ भन्दा बढीको मृत्यु भएको छ भने ४ सय भन्दा बढी घाइते उपचाररत छन् ।


प्रकाशित | १८ चैत्र २०७५, सोमबार ०८:५१