जुडोका रमेश मगरलाई १० बर्षको प्रतिबन्ध !

काठमाडौं : नेपाल जुडो संघले अन्तराष्ट्रिय खेलाडी रमेश मगरलाई १० बर्षको प्रतिबन्ध लगाएको छ । जुडो संघले जुडो सम्बन्धी कुनैपनि कार्यक्रममा सहभागि हुन नपाउने गरि १० बर्षको प्रतिबन्ध लगाएको जनाएको छ । सागका पदकधारी खेलाडी मगरलाई प्रशिक्षण कोर्सको प्रयोगात्मक परिक्षा दिन हङ्गेरी प्रस्थान गरेसँगै बिदेशमा लुकेको पुष्टि भएपछि संघले उनलाई कारबाही स्वरुप प्रतिबन्ध लगाएको हो ।

‘उक्त परीक्षामा सहभागि नभई विदेशमा नै पलायन भै देशको छवि तथा नेपाल जुडो संघको प्रतिष्ठामा आँच पुर्याउने कार्य गरेको हुँदा निजलाई १० वर्षसम्म जुडो सम्बन्धी कुनै पनि कार्यक्रममा सहभागि नगराउने निर्णय गरिएको जानकारी गर्दछु,’  जुडो संघको भनाइ छ।

अनुसन्धानको क्रममा उनी फ्रान्समा लुकेर बसेको पत्ता लागेपछि उनलाई प्रतिबन्ध लगाउने निर्णय गरिएको संघका अध्यक्ष दिपकहर्ष बज्राचार्यले जानकारी दिनुभयो । आईजेएफ एकेडेमी लेवल वानको ११ हप्ताको सैद्वान्तिक परिक्षामा सहभागि भएर उत्तीण भएका उनी प्रयोगात्मक परिक्षामा सहभागि हुन हङ्गेरी जाने क्रममा फ्रान्समा लुकेको पुष्टि भएको हो ।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार २०:४३