एनआरएनएलाई थप परिस्कृत, प्रभावकारी र परिणाममुखी बनाउनेछु: महेश कुमार श्रेष्ठ

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) का आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार महेश कुमार श्रेष्ठले ंस्थालाई थप परिस्कृत, प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । आफू निर्वाचीत भएपछि गैर आवासीय नेपालीको गरीमा उच्च बनाउने गरि संस्थालाई नयाँ ढाँचामा अगाडि बढाउने बताउनुभएको हो ।

‘आसन्न महाधिवेशनबाट नयाँ कार्यसमिति गठन भएको ६ महिनाभित्र विस्तृत भिजनरी दस्तावेज तयार पारेर अगाडि बढ्नेछु ।’

चुनावी अभियानको क्रममा मध्यपूर्वका विभिन्न एनसिसीहरुले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा बोल्नुहुँदै अध्यक्षका उम्मेदवार श्रेष्ठले आसन्न महाधिवेशनबाट नयाँ कार्यसमिति गठन भएको ६ महिनाभित्र विस्तृत भिजनरी दस्तावेज तयार पारेर अगाडि बढ्ने बताउनुभयो ।

श्रेष्ठले उक्त समितिले तयार पारेको प्रतिवेदन अनुसार सन् २०२५ अक्टोवरसम्मको कार्यतालिकालाई संघको वार्षिक क्यालेन्डरमा नै समावेश गरि कार्यान्वयन गर्ने बताउनुभयो ।

‘अबको कार्यभार, एनआरएनएको हक हित र अधिकार, जन्मभूमिका नेपालीलाई, कर्मभूमिका नेपालीको साथ, समुन्नत नेपालको संकल्प, संरचनात्मक सुधार र संस्थागत विकास र प्राथमिकतामा युवा, महिला तथा तेस्रो पुस्ता’ गरि पाँच नीतिगत प्रतिबद्धता अगाडि सार्नु भएको छ ।

‘मैले प्रतिबद्धतापत्रमा उल्लेख गरिएका नीति, रणनीति र कार्ययोजना कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय, नेपाल राष्ट बैक.र्राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघका प्रतिनिधि र योजनाविद् तथा विज्ञ विशेषज्ञ सम्मिलित एक स्थायी समिति बनाउनेछु’, अध्यक्ष उम्मेदवार श्रेष्ठले भन्नुभयो, ‘उक्त समितिले कम्तिमा २ महिनामा १ पटक अनिवार्य बैठक बस्ने तथा कार्यान्वयन प्रक्रियालाई तीब्रता दिनेछ ।’

त्यस्तै, प्रतिबद्धतापत्रमा उल्लेख गरिएका नीति, रणनीति र कार्ययोजना ठोस रुपमा कार्यान्वयन गर्नका लागि नेपाल सरकार, स्वदेशी र विदेशी निजी क्षेत्र, सम्बन्धित अन्तराष्टिय निकायहरुसँगको सहकार्य र समन्वयमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन, अन्तर्राष्ट्रिय ज्ञान सम्मेलन र नेपालको परराष्ट्र एवं आर्थिक नीति सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने बताउनुभयो ।


प्रकाशित | १५ आश्विन २०८०, सोमबार २१:४४