एनआरएनए अध्यक्षमा महेश श्रेष्ठले शुक्रबार उम्मेदवारी घोषणा गर्ने, सहभागिताका लागि आह्वान

काठमाडौं: गैर आवासीय नेपाली संघको आगामी कार्यकालको नेतृत्वको लागि उपाध्यक्ष महेश श्रेष्ठले शुक्रबार उम्मेदवारी घोषणा गर्नु हुने भएको छ ।

श्रेष्ठले शुक्रबार ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा दिनको ३ बजे पत्रकार सम्मेलनको आयोजना गरि उम्मेदवारी घोषणा गर्न लाग्नु भएको हो । सोही अवसरमा प्रतिबद्धतापत्र समेत सार्वजनीक गरिने श्रेष्ठले जानकारी दिनुभयो । संघको आसन्न ११ औ महाधिवेशन १७-२० अक्टोबरमा हुँदैछ ।

उपाध्यक्ष श्रेष्ठले ११ औं महाधिवेशनमा संघलाई एकताबद्ध गरि नयाँ योजना र नयाँ कार्यक्रमसहित उम्मेदवारी घोषणा गरिन लागिएको बताउनुभयो । उहाँले विश्वभरिका गैर आवासीय नेपालीहरुमा जुम मार्फत पत्रकार सम्मेलनमा जोडिन पनि आह्वान गर्नु भएको छ ।

गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशिल रहँदै आउनु भएको श्रेष्ठ आइसिसी कोषाध्यक्षमा लोकप्रिय मतका साथ विजयी हुनु भएको थियो । कोषाध्यक्ष हुँदा संस्थालाई आर्थिक पारदर्शीता कायम गर्नेदेखि आर्थिक अवस्था सुधार गर्न उहाँ सफल हुनु भएको थियो । हाल एनआरएनए उपाध्यक्ष रहनु भएको श्रेष्ठ गैर आवासीय नेपाली समुदायमाझ इमानदार र स्वच्छ छवीको रुपमा चिनीनुहुन्छ ।

श्रेष्ठले विशेष गरि गैर आवसाीय नेपाली संघले उठाउँदै आएको नेपाली नागरिकताको निरन्तरतालाई कार्यान्वयन गराउन महत्वपूर्ण भूमीका निर्वाह गर्दै आउनु भएको छ ।


प्रकाशित | २८ भाद्र २०८०, बिहीबार ०७:५६