भक्तपुर: सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा ३८ दिने श्रावणी मेला शूरु भएको छ । स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट कलश यात्रा गरि मन्दिरमा पुगेर समापन गरि मेलाको शुभारम्भ गरिएको हो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले मेला तथा डोलेश्वर महादेव मन्दिर प्रवेश गर्ने मुलद्धारको पनि उद्घाटन गर्नुभयो । मुलद्धार सूर्यविनायक नगरपालिकाको ६८ लाख सहयोगमा निर्माण गरिएको हो ।

सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख थापाले डोलेश्वरको मन्दिरको लागि कुनै पनि सहयोग गर्न तयार रहेको बताउँदै मेलाबाट उठ्ने भेटीबाट उठेको रकमसहित आवश्यक बजेट विनियोजन गरेर हिड्ने बाटोको ढुंगा छपाई कार्य सम्पन्न गर्ने बताउनुभयो ।

मेयर थापाले सूर्यविनायक नगरपालिकामा रहेको शिवालयहरुमा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न नगरपालिकाले शिव सर्किट निर्माण गरिरहेको बताउनुभयो । शिवालयहरुलाई समेटेर एकै दिनमा १ देखि १० वडासम्म रहेको शिवमन्दिरहरुमा घुम्न सकिने गरि रुट तय गर्दै नगरपालिकाले शिव सर्किटको निर्माण गरेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा डोलेश्वर विकास समितिका संरक्षक भरत जंगमले डोलेश्वरलाई केदारनाथको शीर घोषणा गर्दाको बखतदेखि वर्तमान अवस्थामा आइपुग्दा झेल्नुपरेको सघर्षको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा नगरपालिकाको उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले सूर्यविनायक नगरपालिकामा डोलेश्वर, आशापुरी, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, नन्दिकेश्वर, लटरम्बेश्वरलगायतका प्रसिद्ध शिवालयहरु रहेकाले यस क्षेत्रलाई नगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रको बिकासको रुपमा अगाडि बढाइरहेको बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न वडा कार्यालयले समितिसँग समन्वय गरी अघि बढिरहेको जानकारी गराउनुभयो ।

डोलेश्वर विास समितिका अध्यक्ष धर्मराज बस्नेतले मेलाको लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरुको सजताका लागि लाइन व्यवस्थापन, यातायातका साधन, स्वास्थ्य शिविर, खानेपानी लगायतको बन्दोबस्ती मिलाएको बताउनुभयो ।

उहाँका अनुसार यो वर्षको मेलामा ५ लाखबढी भक्तजनहरुले मन्दिरमा पूजाआजा गर्नुका साथै दर्शन गर्ने अनुमान गरिएको छ । मेलामा १ करोड २५ लाख रकम संकलन हुने अनुमान गरिएको छ ।

कार्यक्रममा समितिका महासचिव हरिशरण बस्नेतका अनुसार मेलामा श्रावण २ गतेदेखि ८ गतेसम्म प. जनार्दन पौडेलबाट शिवपुराण कथा बाचन, श्रावण ९ गतेबाट १५ गतेसम्म प। उदयनारायण बाँस्कोटा शास्त्रीबाट पुरुषोत्तम माहात्ये, श्रावण ६ गतेबाट २२ गतेसम्म पं राघव अर्यालबाट श्रीमद्भागवत् महापुराण, श्रावण २३ गतेबाट २७ गतेसम्म प. बालकृष्ण अर्यालबाट विभिन्न धार्मिक प्रवचन, श्रावण २८ गतेबाट भाद्र ५ गतेसम्म विभिन्न गुरुहरुबाट धार्मिक प्रवचन एवं कलाकारहरुबाट भजन कीर्तन र भाद्र ६ गते वार्षिकोत्सव तथा श्रावणी मेला समापन गरिने छ ।








प्रकाशित | १ श्रावण २०८०, सोमबार १७:४८