सूर्यविनायकले कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्न दिने जग्गाधनीलाई सम्पत्ती करमा ५० प्रतिशत छुट दिने

भक्तपुर: सूर्यविनायक नगरपालिकाले कृषि क्षेत्रलाई पनि विशेष प्राथमिकता दिदैं नीति तथा कार्यक्रम बनाएको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिदैं नगरपालिकाले कृषि तथा पशुपन्छी क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रीकीकरण एवं बजारीकरणका साथै समग्र विकास गर्न नगर कृषि गुरु योजना तर्जुमा गर्ने भएको छ ।

“कृषि प्राविधिक कृषक संगै” नीतिलाई कार्यन्वयन गर्न प्राविधिक घरदैलो कार्यक्रम अभियानकै रुपमा संचालन गर्ने, तरकारी बालीमा लाग्ने रोग किरा व्यवस्थापन गर्न कृषक पाठशाला संचालन गर्ने भएको छ ।

त्यस्तै, संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा कृषि पूर्वाधार जस्तै चिस्यान केन्द्र, प्रशोधन केन्द्र तथा प्राङ्गारिक मल उत्पादन कारखानाको निर्माणलाई प्राथमिकता दिने, एक वडा एक पशुपन्छी तथा बाली उत्पादन पकेट कार्यक्रम (जस्तैः च्याउ, कुरिलो, तरकारी) सञ्चालन गरी कृषि तथा पशुपन्छीजन्य उत्पादनलाई विशिष्टीकरण गर्न अध्ययन गरी कार्यान्वयन गर्ने नीति पनि समावेश गरिएको छ ।

त्यस्तैगरि, व्यवसायिक एवं आधुनिक तरकारी खेती मार्फत उत्पादन, उत्पादकत्व एवं आय आर्जनमा अभिवृद्धि गर्न ५० प्रतिशत अनुदानमा उन्नत जातको तरकारीको बिउ, फलफूलको बिरुवा, प्लाष्टिक टनेल, कृषि औजार तथा कृषि सामाग्री वितरणको नीतिलाई निरन्तरता दिने भएको छ ।

सूर्यविनायक नगरपालिका अन्तर्गत अधिकांश जग्गाहरु खाली रहेकोले सो जग्गाहरुमा कृषि तथा पशुपालन व्यवसाय संचालन गर्न प्रोत्साहन गर्ने र व्यवसायिक र आवासीय क्षेत्रमा वर्गिकरण भएको जग्गा ५ वर्ष भन्दा वढी अवधिको लागि कृषि तथा पशुपालन क्षेत्रको लागि दिनेगरी सम्झौता गर्ने जग्गाधनीलाई सम्पत्ती करमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाईने भएको छ ।

त्यस्तैगरि, प्रत्येक वडामा निजी क्षेत्रसंग साझेदारी गरी कम्तिमा एउटा नर्सरी स्थापना गरिने र सूर्यविनायक नगरपालिका र कृषि सहकारीको समन्वय र सहकार्यमा स्थानीय बिउ बैंकको स्थापना गर्ने नीति लिएको छ ।


प्रकाशित | २९ असार २०८०, शुक्रबार १८:५५