मध्यपुर थिमीको नेपाल-कोरिया मैत्री अस्पताल स्तरोन्नतिको लागि कोरिया सरकारको १ अर्ब २५ करोड सहयोग

भक्तपुर : मध्यपुर थिमी नगरपालिकाद्धारा सञ्चालीत नेपाल कोरिया मैत्री अस्पताललाई दक्षिण कोरियाली सरकारले ठूलो रकम बराबरको सहयोग उपलब्ध गराउने भएको छ । नेपाल कोरिया मैत्री अस्पतालको स्त्तोरन्नतीका लागि ९ दशमलव ५ मिलियन डलर अर्थात एक अर्ब २५ करोड रुपैंया आर्थिक सहायता प्रदान गर्ने भएको हो ।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क, ते–योङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सो अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदी, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका कार्यकारी निर्देशक डा। डि।के। रौशन, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

गुणस्तरीय अस्पताल व्यवस्थापन, सङ्क्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार, कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहुँच लक्ष्य हासिल गर्न सार्वजनिक स्वास्थ्य बिमा लक्ष्यका साथै कोइका मार्फत ५ वर्ष (सन् २०२७ सम्ममा पूरा हुने) यस योजनाका लागि ९.५ अमेरिकी डलर खर्च गरिने जनाइएको छ।

यो परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्य र समन्वयमा कोइका, मध्यपुर थिमि नगरपालिका र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले कार्यान्वयन गर्ने छन् । प्राप्त सहयोगबाट कोइकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्त्तोरन्नती गरी अस्पतालको छेउको जग्गामा १५० शैयाको अस्पताल भवन निर्माण गर्ने, आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने र अस्पतालका मेडिकल तथा प्रशासनिक कर्मचारीहरूको क्षमता विकास गर्ने जनाइएको छ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख श्रेष्ठले कोरियाली सरकारको सहयोगले समग्र भक्तपुरबासी लाभान्विभत हुने बताउनुभयो ।


प्रकाशित | २६ असार २०८०, मंगलवार २०:५९