सूर्यविनायकमा ज्येष्ठ नागरिक समन्वय समिति गठन, ज्येष्ठ नागरिक सम्मानदेखि मिलन चौतारीसम्म निर्माण गरिने

भक्तपुर । सूर्यविनायक नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समिति गठन भएको छ । सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा संरक्षक र उपप्रमुख सरिता तिमिल्सिना भट्टराई संयोजक रहेको १९ सदस्यीय समिति गठन भएको हो

नगरपालिकाको सभाहलमा बुधबार भएको १० वटै वडाका संयोजकहरुको भेलाले समन्वय समिति गठन गरेको हो । भेलाले संयोजक भट्टराई रहने गरि सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, सामाजीक विकास समितिका संयोजक रविन्द्र सापकोटा, सामाजिक विकास महाशाखाका रत्न बहादुर कट्वाल र स्वास्थ्य शाखा प्रमुख बसन्त प्रसाद चाँपागाई र १० वटै वडाका संयोजक सदस्य रहने गरि समिति गठन गरेको हो ।

त्यस्तै, अन्य सदस्यहरुमा वडा नंं १ का संयोजक बाबुशरण श्रेष्ठ, २ का संयोजक कमलनाथ आचार्य, ३ का संयोजक विश्वनाथ ढुंगेल, ४ का संयोजक रामगोपाल न्यौपाने, ५ का संयोजक रत्न बहादुर थापा, ६ का संयोजक कृष्णराज केसी, ७ का संयोजक शिव बहादुर कार्की, ८ का संयोजक शेर बहादुर थापा मगर, ९ का संयोजक भैरव बहादुर खत्री र १० का संयोजक राजकुमार कार्की, ज्येष्ठ नागरिकबाट विजय श्रेष्ठ र सदस्य सचीवमा महिला बालबालीका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रञ्जना पोखरेल रहनु भएको छ । अन्य तीन जना भने आगामी बैठकमा थप गरिनेछ ।

भेलालाई सम्बोधन गर्नुहुँदै उपप्रमुख भट्टराईले ज्येष्ठ नागरिकको सम्मानमा नगरपालिकाका पतिबद्ध रहेको बताउनुभयो । संयोजक भट्टराईले आगामी आर्थिक वर्षको बजेटमा ज्येष्ठ नागरिकहरुमा रहेको ज्ञान र सीप हस्तान्तरण गर्ने अभिप्रायले जेष्ठ नागरिक मिलन चौतारी निर्माण गने र ज्येष्ठ नागरिक मेयर सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष ८० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रमको लागि बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले चालु आर्थिक वर्षमा १८ लाख बजेट विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षमा सम्मान, अभिमूखीकरण र ज्येष्ठ नागरिक मिलन चौतारी निर्माणका लागि ५ लाख बजेट बढाएर २३ लाख पुर्याइएको बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले हालसम्म २ वटा वडामा ज्येष्ठ नागरिक मिलन चौतारी निर्माण भएकोमा आगामी आर्थिक वर्षमा थप वडामा निर्माण गर्दै जाने योजना रहेको बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगर अस्पतालका प्रमुख डा.सागर राज राजभण्डारीले उमेर बढ्दै जाँदा विभिन्न रोगले च्याप्ने हुनाले नियमीत खानपान, शारिरीक अम्यास तथा स्वास्थ्य चेकजाँचमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

महिला बालबालीका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रञ्जना पोखरेलले अर्को बैठक आगामी भदौ पहिलो साता बसी ज्येष्ठ नागरिकको लागि छुट्याइएको बजेटको विषयमा छलफल गरिने जानकारी गराउनुभयो ।


प्रकाशित | २० असार २०८०, बुधबार २०:२५