भक्तपुर : सूर्यविनायक नगरपालिकाको आयोजना, घरेलु तथा साना उद्योग संघको संयोजन तथा भक्तपुर पर्यटन विकास समितिको प्रबद्र्धनमा तीन दिने घरेलु, कृषि तथा पर्यटन मेला भब्य रुपमा शुरु भएको छ । राष्ट्रिय धान दिवसको अवसरमा शूरु भएको मेला आइतबारसम्म चल्नेछ । मेलाको शुक्रबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख बासुदेव थापाले औपचारिक उद्घाटन गर्नुभयो ।

सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख थापाले नगरपालिकाले दिर्घकालीन सोचका साथ पहिलो पटक मेला आयोजना गरेको बताउँदै मेलाबाट पर्यटन प्रबद्र्धन र ब्यवसायीक क्षमता विकास हुने विश्वास ब्यक्त गर्नुभयो । नगरपालिकाले विकास निर्माणका साथै पछिल्लो समय आयमूलक तथा सिपमूलक क्षेत्रको विकास गर्न लागिपरेको र मेला त्यसैको शूरुवात भएको बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथि नेपालका लागि स्वीटजरल्याण्ड राजदूतावासका डेपुटी हेड अफ मिसन मथायस मायरले सूर्यविनायकको आर्थिक विकासका लागि मेलाले महत्वपूर्ण भूमीका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।

नगरपालिका उपप्रमुख तथा मेला संयोजक सरिता तिमिल्सिना भट्टराईले नगरपालिकालाई आर्थिक रुपमा दरो र बलियो बनाउनको लागि मेला आयोजना गरिएको बताउनुभयो । सूर्यविनायक नगरपालिकाको समग्र आर्थिक विकासको रुपमा रहेको घरेलु तथा साना उद्योग कृषि र पर्यटन क्षेत्रको प्रबद्र्धनसँगै कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै उत्पादनलाई सिधै बजार र उपभोक्तासँग जोड्ने उद्देश्यका साथ आधुनिक प्रविधि, अनलाइन मार्केटिङगमा उत्पादक र उपभोक्तासम्म पहुँच पुर्याउने लक्ष्यका साथ मेला आयोजना गरिएको स्पष्ट पार्नुभयो ।

भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेश राज शर्माले पर्यटनको दिगोपनाको लागि बहुआयामीक पर्यटनमा जोड दिन आवश्यक रहेको बताउनुभयो । भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम कृष्ण खर्वुजाले यस्तो मेला प्रत्येक महिना वा सम्भव भए प्रत्येक हप्ता गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न मेलाले महत्वपूर्ण सहयोग पुग्ने उहाँले बताउनुभयो ।

नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले मेला सूर्यविनायक नगरपालिकाको लागि पहिलो अनुभव भएको बताउँदै अब नगरपालिकाले मानवीय विकासमा जोड दिने बताउनुभयो । वडा नंं ७ का वडाध्यक्ष समेत रहनु भएको सापकोटाले स्थानीय मौलिक उत्पादन तथा वस्तु उद्योग सूर्यविनायक नगरपालिका क्षेत्रको उत्पादन स्थानीय, प्रादेशिक तथा राष्ट्रिय हुँदै अन्तर्राट्रिय स्तरसम्म पुहँच अभिवृद्धि भइ पर्यटन उद्योगलाई जोड्ने अपेक्षा गरिएको बताउनुभयो ।

नगरपालिकाका आर्थिक विकास समितिका संयोजक तथा कार्यक्रमका सभापति पुष्पराज बस्नेतले गाविसबाट नगरोन्मुख भएको नगरपालिका भएकाले अघिल्लो कार्यकालमा भौतीक पूर्वाधारका कार्यक्रमलाई अगाडि बढाइएको र पछिल्लो समय सामाजीक तथा आर्थिक विकासमा जोड दिइएको बताउनुभयो । वडा नंं ८ का वडाध्यक्ष समेत रहनु भएको बस्नेतले आगामी बाँकि चार वर्षे कार्यकालमा वषैपिच्छे फरक फरक वडामा मेला आयोजना गर्ने लक्ष्य रहेको जानकारी गराउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले नेपाल वर्षौदेखि कृषिप्रदान देश भनेर चिनीदै आएपनि करोडौ करोड मूल्य वरावरको कृषि सामान विदेशबाट आयात हुनु विडम्वनापूर्ण रहेको बताउनुभयो । वडा नंं ४ का वडाध्यक्ष लछुराम न्यौपानेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

वान टू वाचका प्रतिनिधि विश्व गिरीले सूर्यविनायकमा दर्ता भएका साना तथा मझौला ब्यवसायीलाई ब्यवसायीक सुदुढीकरण तथा ससक्तीकरणको माध्यमबाट २० वटा ब्यवसाय सेवाका लागि निशुल्क सहयोग प्रदान गर्ने बताउनुभयो । उहाँले मेलाले नगरपालिकालाई ब्यवसाय प्रवद्र्धन तथा उद्यमशीलता कार्यान्वयन गर्न नवीन अनुभव प्राप्त हुने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका १० वटै वडाका वडाध्यक्षहरु क्रमशः सानुकाजी कायस्थ, प्रदिप कार्की, दिपेन्द्र केसी, लछुराम न्यौपाने, राजकुमार जोशी, ईश्वर खडका, रविन्द्र सापकोटा, पुष्पराज बस्नेत, भगवान खत्री र शिवराम रावत, नगरकार्यपालिका सदस्य तथा जनप्रतिनिधिहरु, ब्यवसायी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता थियो ।

मेलामा सूर्यविनायकका लघु, घरेलु, साना उद्यमी एवं महिला उद्यमीहरुको उत्पादनहरु स्वदेशी औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यावसायहरु, स्थानीय मौलिक उत्पादनहरु ( जुजु द्यो, ताइचिन चिउरा, भादगाउँले टोपी, माटाका भाडाँकुडाका उत्पादन, कृषि उत्पादन, प्रविधि, हस्तकला तथा काष्टकलाका उत्पादनहरु, पर्यटन उद्योगका उत्पादनहरु मौलिक नेवारी खाजा, समय बजी, यमरी, चटामारी, बारासहितको फुट फेष्टिवल मौलिक एवं परम्मपरागत साँस्कृतिक प्रस्तुती, स्थानीय गायक गायिकाको साङ्गितिक प्रस्तुतीसहित ९० वटा स्टलहरु राखिएको छ ।

मेलामा स्टल र अवलोकन निशुल्क गरिएको छ ।
























प्रकाशित | १५ असार २०८०, शुक्रबार १९:०८