एसीसी प्रिमियर कप: बहराइनको विजयी सुरुवात

काठमाडौं – बहराइनले एसिसी प्रिमियर कपमा सिंगापुरलाई पराजित गरेको छ । जितको लागि २ सय ८७ रनको लक्ष्य पछ्याएको सिंगापुर ४३.१ ओभरमा १ सय ५४ रनमा अल आउट भयो ।

बहराइनका इमरान अनवारले ९ ओभरमा २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । रिजवान बुटले ९।१ ओभरमा २ मेडनसहित ३८ रन खर्चेर ३ विकेट लिए । अब्दुल मजिदले १० ओभरमा २ मेडनसहित २३ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बहराइनले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८६ रन बनाएको थियो । बहराइनका फैज अहमदले ५९ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए । ओपनर शाहवाद बाडरले ९८ बलमा ८ चौका र १ छक्कासहित ७६ रन बनाए ।

अर्का ओपनर मोहम्मद युनिस २४ बलमा ५ चौकासहित २३, डेविड मथिस शून्य, सोहिल अहमद ४६ र कप्तान हैदर अली २९ रनमा आउट भए । एक समय ३२.२ को अवस्थामा पुगेको बहराइनलाई तेस्रो विकेटका लागि शाहजाद र सोहिलले १ सय ६ रनको सानदार शतकीय साझेदारी गरेका थिए । पाँचौं विकेटका लागि फैज अहमद र हैदर अलीले ६६ रनको साझेदारी गरेपछि विशाल योगफलको आधार तय गरेका थिए ।


प्रकाशित | ७ बैशाख २०८०, बिहीबार २०:२९