पिप्लेको हिमालय स्कुल र गुरु भीष्म बजगाईं

उद्धव लुइटेल, ताचिकावा, टोकियो, जापान

२०७९, असार २७ गते सोमबार मध्यान्हतिर मैले मेरा बाल्यकालका गुरू भीष्म बजगाईंलाई म्यासेन्जरबाट फ़ोन लगाएँ । तेह्रथुम पिप्लेको जन्मभूमि मै आजसम्म पनि जीवनयापन गरिरहेका भीष्म सरसँग यसअघि कहिले कुराकानी गरेको थिएँ मलाई स्पष्ट सम्झना छैन । २०५१ को हिउँदतिर मैले कक्षा ७ पास गरेपछि हिमालय निमावि ( हाल मावि) औपचारिक रूपमा छोडें । त्यसपछि भीष्म सरसँग म्याङ्लुङ बजारतिर भेट भएको हुनुपर्छ । ढाँडे खेत, बाघेको मुल, जामुने खेत कतै न कतै भेट त पक्कै भएको हुनुपर्छ । तल बजगाईंको डीतिर पनि हुनसक्छ भेट । तिथिमिति, सालमहिना, गतेबार आदिको सम्झना मसँग छैन । म यति सम्झन्छु भीष्म सर मैले हिमालय निमावि पढिसकेपछि पनि कतै न कतै भेट भएकै मानिस हुन ।

करिब २८ वर्षपछि मैले भीष्म सरसँग म्यासेन्जरमा निर्धक्कसँग कुरा गरें । समय कति छिट्टै बितेछ । पुगनपुग तीन दशक समय आँखा अगाडिबाट फुत्त चिप्लिएछ । रकेट सामुन्नेबाट उडेर गए झैं । विगतका थुप्रै वास्तविकताहरू आज विराना भएछन । तेह्रथुम पिप्लेमा छँदाका साथीभाइहरू अब त जुगाँमुठे भइसके, सँगै खेलेका साथीहरू दुईतीनजना बच्चाका बाआमा भइसके । हाम्रा दाइ दिदीहरू हजुरबुबा हजुरआमा हुन थालिसके । हामी पनि अब त उमेरले निकै माथिका मानिसहरूका लाइनमा उभिएछौं । भीष्म सरसँगको कुराकानीमा मैले विगतका अनगिन्ती घटनाक्रमहरूलाई झल्झली सम्झिएँ ।

भीष्म सरको घर मेरो जन्मघरभन्दा करिब ३० मिनेटको दूरीमा थियो । उनी शिक्षकका अतिरिक्त किसान थिए । सामाजिक गतिविधि र राजनीतिक क्षेत्रमा पनि उनको भूमिका सबैका सामुन्नेमा थियो । पिप्लेको प्राकृतिक पर्यावरणमा भीष्म सर कतै न कतै घुलमेल भएकै मानिस हुन । उनको पढाउने कला खेलकुदसँग बढि सम्बन्धित थियो । मझौला कदका भीष्म सरका गालाभरि दारीजुँगा झ्याप्प पलाएको म झल्झली सम्झिन्छु । तल ढाँडे खेतबाट पिप्लेतिरको बाटामा बारम्बार भेटिरहने भीष्म सर मलाई उस्तै तगडा लाग्छ आज पनि । खजुम साहिँलाको डीनेर होस् वा पिप्लेको साधुकुटीतिर होस् भीष्म सरका पदचापहरू उस्तै बलिया र गाढा छन अझै पनि ।

हिमालय निमाविमा पढ्दा हामी भीष्म सरको पढाइ निकै रुचिपूर्वक सुन्थ्यौं । कतिपयले हलुका भक्भकाएर बोल्ने उनको बानिको आलोचना गर्थे तर त्यो प्राकृतिक स्वभाव भएकाले मानिसको पहुँच बाहिरको विषयमा नकारात्मक टिप्पणी गर्नुको म तुक देख्दिनथें । मेरो पढाइ मेधावी थियो । म कक्षा १ देखि नै लगातार प्रथम थिएँ । त्यो कक्षा ७ सम्म नै कायम भयो । कक्षा ५ को परीक्षा जिल्ला स्तरीय हुन्थ्यो । हामी सत्रजना सहभागीमध्ये ४ जना मात्र पास भयौं । त्यो बेला राधिका निरौला प्रथम भइन, म दोस्रो । जिल्लाबाट अंक जोडेर पठाएको रहेछ । उनको र मेरो कुल प्राप्तांक बराबर भए पनि मेरोमा जोड्दा एक नम्बर कम लेखेको रहेछ । त्यसको फलस्वरूप म दोस्रो भएँ । पछि अर्धवार्षिक परीक्षामा म पुनः प्रथम भएँ । भीष्म सरले कुराकानीका क्रममा – सूर्य केसी र उद्धव लुइटेलजस्ता विद्यार्थीहरूको याद जीवनपर्यन्तसम्म आइरहन्छ पनि भने । मैले धन्यवाद शब्दले गुरु दक्षिणा चढाएँ ।

भीष्म सरले आफूले पिप्ले नछोडेको बारे पनि कहानी सुनाए । उतिबेलाका सरहरूमध्ये मानध्वज खत्री ( एमबी सर) र रामबहादुर खड्का ( आरबी सर) परलोक भइसके । होमप्रसाद पोखरेल ( एचपी सर) र भवानीप्रसाद गड्तौला ( बीपी सर) तराईतिर बसाई सरेको पनि सुनाए भीष्म सरले । अर्जुनप्रसाद गौतम ( एपी सर), खगेन्द्र थेगुवा र केबलराम दाहाल ( केआर सर ) ले जन्मथलो पिप्ले मैं बसेर दिनचर्या बिताइरहेको पनि सुनाए उनले । समयको अन्तरालमा यसप्रकारका घटनाक्रमहरू विकसित हुनुलाई मैले स्वभाविक रूपमा लिएँ ।

कुराकानी कै क्रममा भीष्म सरका फुलेका दारी र कपाल मोबाइलको स्क्रिनमा स्पष्ट देखें । ती दारी र कपाल फुलेका मात्र थिएनन् एउटा सिंगो पुस्ता लाखौं अनुभवहरू बोकेर बुढो हुँदै गएको आभाष भयो । घरको सिकुवामा बसेर कुराकानी गरेका भीष्म सरको ठीक पछाडि घरको भित्तामा केही फोटाहरू देखें । उनले बेलिविस्तार लगाए- माला लगाएको बुबाको, त्यसको छेऊको कान्छो भाइ स्वर्गीय राजकपुरले मेरी जेठी छोरी सपनालाई बोकेको, अर्को फोटो हामी दुईको, अरू ससुरालीखालको, घरतिरका नयाँ पुस्ताहरूको आदि आदि । पूर्वी पहाडतिर घरको सिकुवामा मुल ढोका माथि भगवान् वा परिवारका जीवित तथा मृत व्यक्तिहरूको फोटो राख्ने चलन छ । त्यसको अनुसरण भीष्म सरका घरमा पनि स्पष्ट देखियो ।

मलाई लाग्थ्यो भीष्म सर हिमालय स्कुलका मात्र शिक्षक हुन । तर समय परिस्थितिले त्यो सम्भव नहुने कुरा रहेछ । २०३८ माघ ११ गतेदेखि हिमालय स्कुलबाट आरम्भ भएको उनको शिक्षण कर्म २०७७ चैत २८ गते जनता आधारभूत विद्यालय पिप्लेबाट रिटायर्ड भएको कुरा पनि सुनाए । यसबीचमा २०६१ पुषदेखि लगभग ३९ महिना चैते आधारभूत विद्यालयमा शिक्षण गरेको पनि सुनाए । गाउँ कै केही व्यक्तिहरूका कारण चैते स्कुलबाट फर्केर हिमालय स्कुल आउने इच्छा पूरा नभएको गुनासो गरे उनले । तत्कालिन समयमा हिमालय स्कुलमा हाजिर हुन नदिनु राजनीतिक पूर्वाग्रह प्रमुख कारण थियो भन्ने भीष्म सरको बुझाई थियो । हिमालय स्कुलमा २४ वर्ष ५ महिना शिक्षण गरेको, विद्यालयका पूर्वाधार निर्माणमा अग्रणी भूमिका खेलेको, विद्यालयको भवन बनाउँदा श्रीकर्नेका काठ बोकेको, आफ्नो जीवनको अधिकांश उर्जाशील समय सोही विद्यालयमा खन्याएको तर पछि सोही विद्यालयमा हाजिर हुन नदिएको प्रति भीष्म सरको मनमा असन्तुष्टिको गाँठो कस्सिएको रहेछ । हाम्रा सामुदायिक विद्यालयमा हुने फोहोरी राजनीतिक खेल र दाउपेचको शिकार भीष्म सरलाई पनि बनाइएको रहेछ ।

कालो फ्रेम भएको चस्मा र तेह्रथुमे ढाकाको टोपी लगाएका भीष्म सरको जोस जाँगर उस्तै देखिन्थ्यो । २०१७ चैत २९ गते जन्मिएका भीष्म सर ६३ वर्षको उमेरमा पनि हृष्टपुष्ट देखिन्थे । भीष्म सरबाट ज्ञान पाएकाहरूले धर्तिका अनेकौं स्थानहरू चाहारिसके । जीवनलाई उन्नति प्रगतिको शिखरसम्म पुर्याए । कतिपय प्रतिष्ठित पदमा आसीन भइसके । मरुभूमिदेखि महासागरसम्म, पिप्लेदेखि पेरिससम्म, तेह्रथुमदेखि टेक्सससम्म पाइला हालिसके । तर भीष्म सर सधैं माझी बनेर ज्ञानको डुंगा चलाइरहे र हजारौं व्यक्तिहरूलाई अज्ञानता र अन्धकारको दुनियाबाट ज्ञान र उज्यालोको जगतसम्म पुर्याउन हरपल दत्तचित्त भएर लागिरहे । अर्थात सिंगो जीवन नै शिक्षण पेसामा समर्पित गरे ।

मनका धनि भीष्म सरप्रति म हृदयदेखि सम्मान गर्दछु । सम्मान म ती अरू सरहरूलाई पनि गर्दछु जसले आफू माझी बनेर म लगायत हजारौं विद्यार्थीहरूलाई अज्ञानबाट ज्ञान अनि अन्धकारबाट उज्यालो संसारमा पुग्न प्रारम्भिक बाटो खनिदिएँ र त्यसमा हिंड्न सिकाए । प्रशान्त महासागरले घेरिएको टापुबाट विगतका ती दिनहरू सम्झिदा निकै आनन्द लागेर आउँछ ।

हिमालय स्कुल पढ्दा एउटा चलन थियो । वैशाख महिनामा पाँच, छ र सात कक्षाका विद्यार्थीहरूलाई गडीको जंगलमा काफल खुवाउन लाने । आलेटारसम्म पुगेर काफलको रूखका हाँगाहाँगामा चढेर काफल टिप्दै सर्ट र पाइन्टका गोजी भर्थ्यौं हामी । दुर्गा दाहाल, खगेन्द्र खत्री, विष्णु सुनार, मीरा निरौंला आदि हामीसँगै हिंड्थे । पशुपति रेग्मी र राजेन्द्र खड्का पनि हाम्रै ग्रुपमा हुन्थे । भीष्म सर, बीपी सर, खगेन्द्र सर हुन्थे हाम्रा काफल खोजबीन र खानपान कार्यक्रममा संयोजक । एमबी सर र एचपी सरलाई विद्यार्थीहरूले हत्तपत्त टेर्दैनथे । हरेक मानिसको आआफ्नै प्राकृतिक स्वभाव हुन्छ । त्यो स्वभावलाई कृत्रिम उपायद्वारा परिवर्तन गर्न निकै बलबुता लगाउनु पर्छ । मर्द सुलभ कठोरता र स्त्री सुलभ कोमलता साहित्य र समालोचनामा प्रचलित शब्द हुन। अंग्रेजीमा स्टोन हार्ट र फ्लाओर हार्ट यसैका निम्ति बनेका शब्द होलान । यी दुवै प्रवृत्तिहरू हिमालय स्कुलका गुरुहरूमा स्पष्ट रूपमा प्रतिबिम्बित थिए ।

चार दशकको उमेर जीवनले छुनै लाग्दा म के महसुस गर्दैछु भने जीवन भोगाई उमेरजन्य परिस्थिति अनुसार फरकफरक हुँदोरहेछ । बाल्यकालको जीवनका अध्यायहरू युवा अवस्थासँग मिल्दैनन् । युवा अवस्थाका जीवनका अध्यायहरू उमेर ढल्किँदै गर्दाको समय सन्दर्भसँग मिल्दैनन् । तर पनि अन्तर्तहमा गएर हेर्दा यी एकआपसमा अन्तर्सम्बन्धित भने हुन्छन नै । उमेर अनुसार समयको बुझाइ फरकफरक हुने गर्दछ । हिमालय स्कुलका ती दिनहरू सम्झिँदा निकै आनन्द लागेर आउँछ ।

भीष्म सर मेरा निम्ति गुरू मात्र होइनन् । उनी बाँच्दाका जन्ती र मर्दाका मलामी पनि हुन । गाउँघरमा विवाह, ब्रतबन्ध र पूजापाठका बेला दिलो ज्यान दिएर सहयोग गर्ने खम्बा हुन । हिजोआज युवाहरू गाउँघर बस्न मान्दैनन् । यो सरासर राज्यको दोष हो । राजनीति गर्नेहरूको बेइमानी हो । देश हँकुवाहरूको गद्दारी हो । त्यसको चोट भीष्म सर र मैले पनि खेपेका छौं । त्यसैले उनी गाउँबासी भए म परदेशी । गाउँमै शिक्षादीक्षा, रोजगारी, स्वास्थ्यसेवा, भौतिक सुरक्षा आदि पर्याप्त हुन्थ्यो भने म सायद परदेशी हुन्नथें होला । मलाई बाकसे ढुंगो, अँधेरी खोला, तल्लोखन्नो खेत, तीनतले भीर, पात्लेचहुर, सल्लेरी वन जति प्रिय छन त्यति प्रिय त अरू केही लाग्दैन । बाल्यकालमा खेलेका, उफ्रेका, रमाएका र मन जोडेका ठाऊँहरू कहिल्यै पनि हृदयबाट नछुट्टिने रहेछन् । भीष्म सरले दिएका ज्ञान, शिक्षा र दृष्टिचेत आजको जीवनमा पनि उत्तिकै महत्त्वपूर्ण छन ।

उत्तरतिरको तीनजुरे डाँडा, लसुने बजार,जिरिखिम्ती बजार, अन्तरी डाँडा हुन वा दक्षिणतिरको नागदह र तमोर नदी हुन भीष्म सर र मेरो आँखामा सधैं ठोक्किरहन्थे । पूर्वतिरको जुवा डाँडा र जलजले, ओयाक्जुङ र औंसी बजार हुन वा पश्चिमतिरको सोल्मा, शुक्रबारे र धनकुटा हुन हामी दुवै तिनीहरूलाई आँखाका नानीमा नचाएर हुर्कियौं । सोल्माकी राधिका पोखरेलको “तीनजुरेको सिरानबाट बगिआउने खोला( पिगुवा खोला)……” गीतका शब्दहरू सुनेरै हुर्कियौं । डम्बरबहादुर लोहारका आरनमा बनेका हँसियाले तल जामुने खेतमा लहलहाउँदो धान काटिरहेका बेला पर ढाँडे खेततिरबाट आएका भीष्म सरले “अम्बक खाऊँ उद्धव “ भनेको म निकै गाढा गरी सम्झन्छु ।

विष्णु भट्टराई प्रधानाध्यापक छन । दुर्गा दाहालले यतै घर बनाएर बसेका छन । खगेन्द्र खत्री इटहरीमा सपरिवार बस्छन । मीना कटुवाल, कोपिला निरौला, राधिका निरौला, कौशिला निरौला, मुना खड्का तराईतिर विवाह गरेर गए । नेत्र खड्का र राजेन्द्र खड्का वैदेशिक रोजगारीमा छन । यी सबै भीष्म सरका मुखबाट सुनेका ताजा वाक्य हुन ।

मैले भने- कृष्ण लुइटेल पण्डित भए, गीता लुइटेल झोराहाटमा छिन, लोकबहादुर श्रेष्ठ वैदेशिक रोजगारीमा छन ।

तिनीहरू तिम्रो सम्पर्कमा रहेछन् – प्रत्युत्तरमा भीष्म सरले भने ।

जन्म र मृत्युका बीचको धर्सो हो जीवन । सृष्टिको नियम नै जन्म र मृत्युको कठोर, निर्मम र रहस्यमा बाँधिएको छ । संसार सुन्दर छ, चुनौतीपूर्ण छ र सुख दुःखका अनेकौं पत्रहरूले बनेको छ । भीष्म सर र मलाई प्रकृतिले भनौं वा ईश्वरले भनौं गुरु-चेलाको मुख्य सम्बन्ध र सोही भूमिकामा उतार्यो । पूर्वीय दर्शनले गुरुलाई जन्मदिने आमा र बुबापछिको तेस्रो स्थानमा राखेको छ । एउटा आध्यात्मिक भनाई छ – गुरुको दर्शन नभएसम्म भवसागर यो तर्न सकिन्न ।

शब्दगुच्छामार्फत म भीष्म सरको एक शताब्दीभन्दा बढिको निष्कण्टक र दीर्घजीवनको कामना गर्दछु । उनको निवृत्तिभरणपछिको स्वतन्त्र जीवन समाजका दीनहीनहरूको भलाई र कल्याणमा फलदायी रूपमा लागिरहोस् । ईश्वरले कुनै दिन भेट गराए छन भने अँगेनाका डिलमा आगो तापेर रातभरि मनका कुरा गरौंला । केआर सर, एचपी सर, खगेन्द्र थेगुवा सर, बीपी सर र अर्जुन गौतम सरलाई पनि बोलाउँला । मलाई जापानभन्दा जामुने र पेरिसभन्दा पिप्ले प्रिय छन । अन्त्यमा हृदयको केन्द्रबाट म तीनजुरेको डाँडो थर्किने गरी ठूलो स्वरमा भन्छु – आइ लभ यु भीष्म सर ।


प्रकाशित | ११ फाल्गुन २०७९, बिहीबार ०८:३६