अब भाषण कम, काम धेरै गर्छु : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको कार्यकालमा भाषण कम, काम धेरै गरेर जनताको सेवा गर्ने प्रतिबद्धता जनाउनु भएको छ । नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब बोलेर नभई काम गरेर देखाउनुपर्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको शपथग्रहण लिएर पहिलो क्याबिनेट बैठकबाट देशको अर्थतन्त्रमा सुधार गर्नुपर्ने ऐतिहासिक आवश्यकता, सङ्कटबाट पार लगाउनुपर्ने आवश्यकता, सुशासन कायम गर्नुपर्ने आवश्यकता, भ्रष्टाचार र बेथिति नियन्त्रण गर्नुपर्ने आवश्यकता, जनताले विभिन्न क्षेत्रमा पाइरहेका सास्तीहरुबाट मुक्त गर्नुपर्ने आवश्यकतालाई इङ्गित गर्दै निर्णय गरिएको थियो ।’

यस पटक हरेक दिन देशको पक्षमा, जनताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई पुरा गर्दै जाने प्रतिबद्धता लिएको पनि स्पष्ट पार्नुभयो । ‘मैले बाँकी जीवन विकास र सुशासनका लागि समर्पित गर्ने भनेर भनेको छु’, उहाँले थप्दै भन्नुभयो ।


प्रकाशित | १६ पुष २०७९, शनिबार १९:२५