दोलखामा बुथ कब्जा गर्ने गलत प्रवृत्तिको अन्त्य गर्न सफल भयौ: बालकृष्ण शिवाकोटी

दोलखा । नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले दोलखामा बुथ कब्जा गर्ने गलत प्रवृत्तिको अन्त्य गर्न सफल भएकोमा खुसी ब्यक्त गर्नु भएको छ ।

आज वैतेश्वर र तामाकोशीका विभिन्न मतदान केन्द्रको अवलोकन गर्नुहुँदै उम्मेदवार शिवाकोटीले पुनः निर्वाचनमार्फत बुथ कब्जा गर्ने गलत प्रवृत्तिको अन्त्य भएको बताउनुभयो ।

‘हामीले दोलखाका आठ दस ठाउँमा बुथ कब्जा भएको उजुरी दिएका थियौ, तर त्यसमध्ये चार ठाउँमा पुन निर्वाचन हुँदा आंशिक भए पनि बुथ कब्जा गर्ने गलत प्रवृत्तिलाई अन्त्य गर्न सफल भएका छौ, यो दोलखाली जनताको लागि खुसीको कुरा हो’, उम्मेदवार शिवाकोटीले भन्नुभयो ।

मतदान केन्द्रको अवलोकनको क्रममा उम्मेदवार शिवाकोटीलाई पुनः मतदानको वातावरण बनाएकोमा मतदाताले धन्यवाद समेत दिएका थिए । सो अवसरमा उम्मेदवार शिवाकोटी यो आफ्नो ब्यक्तीगत भन्दा जनताको जीत भएको बताउनुभयो ।

हर्षोल्लासका साथ दोलखामा पुनः मतदान हुनु खुसीको कुरा भएको बताउनुहुँदै शिवाकोटीले जनताले सहज ढंगले मतदान गर्न नपाएकै कारण आफूले सघर्ष गरेको स्पष्ट पार्नभयो ।

‘मंसिर ४ गतेको निर्वाचनमा यहाँ कसैलाई मत हाल्ने अवस्था थिएन । तर अहिले सबैले निर्धक्कका साथ मतदान गरिरहनृु भएको छ, यो खालको वातावरण हुन सबैको लागि खुसीको कुरा हो’, उहाँले भन्नुभयो ।

लोकतन्त्रको सुन्दर पक्ष नै स्वच्छ र निस्पक्ष निर्वाचन भएको बताउँदै उम्मेदवार शिवाकोटीले जनताले आफ्नो निर्णय आफै गर्न पाउनुपर्ने बताउनुभयो । लोकतन्त्रको जीत हार स्वभावीक प्रक्रिया भएको तर जनताको मत लुटेर जसरी पनि निर्वाचन जित्न खोज्नु अलोकतान्त्रिक कार्य भएको बताउनुभयो ।


प्रकाशित | १५ मंसिर २०७९, बिहीबार ११:०४