दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

काठमाडौं: दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ टोलीले सिफारिस गरेको छ । निर्वाचन आयोगले गठन गरेको जाँचबुझ टोलीले आज प्रतिवेदन बुझाउँदै दोलखाका सात केन्द्रमा स्वतन्त्र र निष्पक्ष मतदान हुन नसकेको र पुनः मतदान गर्न सिफारिस गरेको हो ।

४ मंसिरमा भएको चुनावमा बैतेश्वर, तामाकोशी, शैलुङ र मेलुङका आठ मतदान केन्द्रमा मतदान निष्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई रिपोर्ट पठाएको थियो ।

सोही कारण थप वस्तुस्थिति बुझ्न आयोगले सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ टोली छानबिनका लागि खटाएको थियो । तर, टोलीले सात केन्द्रमा निष्पक्ष र स्वतन्त्र मतदान नभएको पाइएको जनाएको छ । टोलीले आज प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा मतदान केन्द्र अनधिकृत कब्जा गरिएको, हुलहुज्जत गरेर स्वतन्त्र र निष्पक्ष मतदान हुन नदिएको उल्लेख छ ।

प्रतिवेदनमा टेकेर निर्णय लिन आयोगमा आयुक्तहरूको बैठक बसिरहेको छ। ‘७ ठाउँमा पुनस्मतदानको सिफारिस आएको छ। आयोगले उपयुक्त निर्णय गर्छ,’ एक आयुक्तले भने।


प्रकाशित | ११ मंसिर २०७९, आईतवार १७:०४