एनआरएनए अमेरिकाले खरिद गर्यो आफ्नै भवन

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आफ्नो कार्यालय भवन खरिद गरेको छ । भर्जिनियामा कार्यालय खरीद गर्न सफल भएको एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धी सुबेदी र वरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्थले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै जानकारी दिनुभयो । भवन खरीदका लागि सहयोग गर्ने सबैलाई एनआरएनए अमेरिकाले धन्यबाद व्यक्त गरेको छ ।

अध्यक्ष बुद्धि सागर सुवेदीले जारी गर्नु भएको विज्ञप्तीमा “मेरो नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित हुनु अगाडि पनि पूर्व अध्यक्ष ज्यूहरूले कार्यालय भवन खरिदका लागि छलफल र प्रयास गर्नु भएको थियो । यसका लागि लामो समय देखि सकारात्मक प्रयास भइरहेको हो । यहाँहरूलाई स्मरण नै छ ,मैले नेतृत्वमा आउँदै गर्दा एनआरएनए अमेरिकाको कार्यालय भवन खरिदको काम टुङ्गोमा पु¥याउने र झोलाबाट हैन कार्यालय भवनबाटै संस्था सञ्चालन गर्ने सार्वजनिक प्रतिबद्धता जाहेर गरेको थियो । तपाइहरू सबैको साथ सहयोग र मेहेनतबाट आज यो अभियान सफल भएको छ । ” भनिएको छ ।

यस्तै वरिष्ठ उपाध्यक्ष पन्थले एनआरएनए अमेरिकाले आफ्नो केन्द्रीय कार्यालय भवन सम्पूर्ण रकम भुक्तानी गरी खरिद गरेको जानकारी दिनु भयो । उहाँले भन्नु भयो “ संघले मेरो संयोजकत्वमा एउटा आर्थिक संकलन समिति गठन गरी सो भवन खरिदका लागि अथक प्रयास गरेको थियो । हाम्रो अनुरोधलाई स्वीकार गरी गैरआवासीय नेपाली आन्दोलनलाई मजवुद बनाउन आफ्नै ईच्छा अनुसार आर्थिक सहयोग गर्न खुल्ला हृदयले सहयोग गर्नुहुने दाताहरु,यो अभियानमा सहयोग गर्नुहुने आईसिसि नेतृत्व, कार्यसमितिका साथीहरु, सम्पुर्ण च्याप्टरहरु लगायत कांधमा कांध मिलाएर यो काममा खटिनुहुने सहकर्मी साथीहरुमा हार्दिक आभार ब्यक्त गर्दछु ।

सो भवन भर्जिनियाको फेयरफ्याक्स काउन्टीमा अवस्थित रहेको छ । १५ सय स्क्वायरको क्षेत्र रहेको सो भवनमा ५ वटा कोठाहरु रहेका छन् । साथै ६० जना सम्मको बैठक गर्न सकिनेछ ।

यस्तो रहेको छ अध्यक्ष सुबेदीले जारी गरेको विज्ञप्ती

सबैलाई धन्यवाद तथा बधाई
गैर आवासीय नेपाली सङ्घ अमेरिकाले आफ्नो जगलाई मजबुत गराउने काममा ठोस उपलब्धि हासिल भएको छ । आजबाट गैर आवासीय नेपाली सङ्घ अमेरिकाका लागि आफ्नै कार्यालय भवन खरिद गर्न सफल भएका छौ ।
मेरो नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित हुनु अगाडि पनि पूर्व अध्यक्ष ज्यूहरूले कार्यालय भवन खरिदका लागि छलफल र प्रयास गर्नु भएको थियो । यसका लागि लामो समय देखि सकारात्मक प्रयास भइरहेको हो । यहाँहरूलाई स्मरण नै छ ,मैले नेतृत्वमा आउँदै गर्दा एनआरएनए अमेरिकाको कार्यालय भवन खरिदको काम टुङ्गोमा पु¥याउने र झोलाबाट हैन कार्यालय भवनबाटै संस्था सञ्चालन गर्ने सार्वजनिक प्रतिबद्धता जाहेर गरेको थियो । तपाइहरू सबैको साथ सहयोग र मेहनतेबाट आज यो अभियान सफल भएको छ ।
विश्वको सबै भन्दा ठुलो एनसीसी अमेरिकाले आफ्नै कार्यालय भवनबाट सचिवालय र संस्था सञ्चालन गरोस् भन्ने आम पञ्जीकृत सदस्यहरूको चाहाना र इच्छा आज पुरा भएको छ । यहाँहरूको साथ र सहयोग बाटै यो सम्भव भएको हो । यो सम्भव बनाउन अहोरात्र खट्नुहुने कार्यसमिति र च्याप्टरका साथीहरू, आर्थिक सहयोग गर्नुहुने दाताहरू, भवनको खोजी र खरिद प्रक्रियामा खट्नु हुने मित्रहरू यहाँहरू सबैलाई बधाई तथा धन्यवाद दिन चाहन्छु । यहाँहरूको रचनात्मक र सहयोगी भूमिकाले हामीलाई उत्साहित बनाएको छ । हामी यहाँहरूको चाहाना अनुरूप अगाडि बढ्दै संस्थालाई थप मजबुत बनाउन क्रियाशील रहने छौँ ।
धन्यवाद
बुद्धि सागर सुवेदी
अध्यक्ष गैर आवासीय नेपाली सङ्घ अमेरिका

यस्तो रहेको छ वरिष्ठ उपाध्यक्ष पन्थले जारी गरेको विज्ञप्ती
आदरणीय अमेरिकाबासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरु !
गैरआवासीय नेपाली संघको अभियानमा लागेको बर्षौं भइसकेको अभियानकर्ताका हैसियतमा आजको दिनको खुसी एनआरएनए सदस्य तथा अभियन्ता एवं सम्पूर्ण शुभेच्छुक र शुभचिन्तकहरुमा बाड्न पाउंदा हर्षित भएको छु ।नवरात्रको यो पावन अवसरमा गैरआवासीय नेपाली संघ, अमेरिकाले आफ्नो केन्द्रीय कार्यालय भवन सम्पूर्ण रकम भुक्तानी गरी खरिद गरेको सहर्ष जानकारी गराउन चाहन्छु ।
आज अक्टोबर ४ मंगलबारका दिन अमेरिकाको डिसी मेट्रो क्षेत्रको फेयरफ्याक्समा रहेको सो भवन औपचारिकरुपमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको स्वामित्वमा हस्तान्तरण भएको छ । आज एक समारोहका बीच भवन खरिदपत्रमा संघको अध्यक्ष र कोषाध्यक्षले हस्ताक्षर गर्नुभएको छ । संघले मेरो संयोजकत्वमा एउटा आर्थिक संकलन समिति गठन गरी सो भवन खरिदका लागि अथक प्रयास गरेको थियो । हाम्रो अनुरोधलाई स्वीकार गरी गैरआवासीय नेपाली आन्दोलनलाई मजवुद बनाउन आफ्नै ईच्छा अनुसार आर्थिक सहयोग गर्न खुल्ला हृदयले सहयोग गर्नुहुने दाताहरु,यो अभियानमा सहयोग गर्नुहुने आईसिसि नेतृत्व, कार्यसमितिका साथीहरु, सम्पुर्ण च्याप्टरहरु लगायत कांधमा कांध मिलाएर यो काममा खटिनुहुने सहकर्मी साथीहरुमा हार्दिक आभार ब्यक्त गर्दछु ।
यो कार्यालय भवन खरिदसंगै संघको अमेरिकामा रहेका साधारण सदस्यले स्वामित्व महसुस गर्ने वातावरण बनेको छ भन्ने विश्वास लागेको छ । अव यो भवन विभिन्न कारणले यस अभियान बाट अलग रहनु भएका गैरआवासीय नेपाली अभियानका अभियन्तालाई समेत एक ठाउंमा ल्याउन प्रेरक स्थान बन्ने छ भन्ने विश्वास व्यक्त गर्दै एकीकृत अभियानले मात्र हामी आफ्नो लक्ष्यमा पुग्न सक्छौं भन्नेमा म दृढ विश्वास राख्दछु । गैरआवासीय नेपालीहरुका पक्षमा अव यो भवनको उचित र अर्थपूर्ण प्रयोग गर्नुपर्ने दायित्व हाम्रो कांधमा आएको छ ।
अन्त्यमा नेपालीहरुको महान् पर्व बडा दशैंको शुभ उपलक्ष्यमा मंगलमय शुभकामना व्यक्त गर्दछु ।
कृष्णजीवी पन्थ
बरिष्ठ उपाध्यक्ष
एवं संयोजक आर्थिक संकलन समिति
गैरआवासीय नेपाली संघ ,अमेरिका


प्रकाशित | २० आश्विन २०७९, बिहीबार १४:०६