गरिब तथा जेहेन्दार ५ हजार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने एनआरएनएको घोषणा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५ हजार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । एनआरएनएकी कार्यकारी अध्यक्ष रविना थापाले सार्वजनिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार ५ हजार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने घोषणा गर्नु भएको हो ।

नेपाल सरकार तथा विभिन्न संघसंस्थाहरु संग सहकार्य गरेर सो परियोजना अघि बढाईने एनआरएनएले जनाएको छ । संघले शिक्षासंगै महिला लक्षित विभिन्न कार्यक्रमहरु अघि बढाउने कार्यकारी अध्यक्ष थापाले बताउनु भयो ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद महिला विभागले गरेको भर्चुअल कार्यक्रममा सो बारे जानकारी दिइएको हो ।
कार्यक्रममा संघका उपाध्यक्ष डा.हेम राज शर्माले गैरआवासीय नेपाली संघले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथामिकता दिएको प्रति खुशी व्यक्त गर्नु भयो ।

छात्रवृत्रिको लागि पहिलो चरणमा १० लाख रुपैयाँको प्रतिबद्धता आइसकेको संघकी सचिव टिका गुरुङले जानकारी दिनु भयो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले गैरआवासीय नेपालीहरुसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा संघकी महिला संयोजक संगीता मरहट्टाले महिला विभागले महिला तथा बालबालिका शिक्षा संगै महिला तथा बालबालिकाहरुको शैक्षिक स्तर बढाउन प्राथमिकता साथ अघि बढ्ने बताउनु भयो । संघकी महिला उपाध्यक्ष यस्मीन बेगम सैयदको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित | २० आश्विन २०७९, बिहीबार ०८:५०