नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाण्डौ : सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभामा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

विधेयकमा भएका कतिपय विषय परिवर्तन गर्नुपर्ने भएकाले अहिले फिर्ता लिएर फेरि प्रतिनिधि सभामा पेस गर्ने निर्णय भएको हो ।

नागरिकता विधेयक २०७५ सालको साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएर राज्य व्यवस्था तथा सुशासन समितिले झन्डै दुई वर्ष दफावार छलफल गरेपछि प्रतिनिधि सभामा पेस गरेको थियो ।

विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा सात वर्षपछि दिने भन्ने विषय विवादमा रहेको छ ।


प्रकाशित | २१ असार २०७९, मंगलवार १९:२४