संस्थालाई आर्थिक रुपमा सवल नबनाउने हो भने भविष्यमा ठूलो संकट आउन सक्छ: साह, कोषाध्यक्ष (अन्तर्वार्ता)

गैर आवासीय नेपाली संघमा तीन जना अध्यक्ष रहने गरि बनेको जम्बो कार्यसमितिको चार महिना बित्नै लाग्दा संस्थाको आर्थिक अवस्थालाई सुधार्न के कस्तो प्रयास भइरहेको छ भनेर हामीले तीन जना कोषाध्यक्षमध्येका एक सुनील साहसँग कुराकानी गरेका छौ । एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष समेत रहनु भएको साहसँग गरिएको कुराकानीको सम्पादीत अंश:–

गैर आवासीय नेपाली संघको आर्थिक अवस्था कस्तो छ ?

गैर आवासीय नेपाली संघ नेपाल बाहिर बसिरहनुभएका सबै नेपालीको साझा संस्था हो । यो गैर नाफा मुलक सामाजिक सेवा मुखी र गैर आवासीय नेपाली सँग सम्बन्धित मुद्दाहरुलाई अघि बढाउने अभियान लिएर संचालन भैरहेको संस्था हो । संघ सबैको सहयोग र सद्भाववाट अघि बढ्ने हुँदा निश्चित रुपमा संघ परोपकारी संस्था हो । यसको अर्थ कुनै पनि संस्था संचालन हुनका लागि आर्थिक पक्षले महत्व राख्दैन भन्ने होईन । पक्कैपनि संस्था सक्रियतापूर्वक संचालन हुनका लागि र केही चिजहरु दिनका लागि आर्थिक पक्षको पनि ठूलो भूमिका रहेको हुन्छ । संघको सन्दर्भमा पनि गैर आवासीय नेपालीसँग जोडिएर आउने विभिन्न योजनाहरु तथा मातृभुमी नेपालका लागि गरिने सेवाका कार्यहरुमा आर्थिक पक्षले पनि ठूलो भूमिका निभाएको हुन्छ ।

अव संघको आर्थिक अवस्थाको कुरा गर्दा मैले अघि पनि भने यो गैर नाफामुलक र सेवा मुखी संस्था हो । विभिन्न व्यक्ति तथा व्यवसायिक प्रतिष्ठानहरुवाट प्राप्त हुने सहयोगमा निर्भर रहेर संघ अघि बढिरहेको छ । निसन्देह संघको आर्थिक अवस्था बलियो भए पनि नभए पनि संघले सबैको साथ लिएर विगतदेखिनै विभिन्न मेगा योजनाहरु संचालनमा ल्याएको थियो । र कतिपय योजनाहरु प्राकृतिक विनाशका कारण परिस्थितिले गर्नैपर्ने गरी अगाडि ल्याईदिएको योजना थिए, अकस्मात निर्णय लिई अगाडि बढ्नैपर्ने अवस्था थिए, त्यसपछि विश्व आक्रान्त पार्ने कोरोनाको कहरले पनि गैर आवासीय नेपाली संघलाई मातृभुमी नेपाल र कर्म देशहरुमा रहनुभएका नेपालीहरुलाई नियमित गर्दै आएको सेवा भन्दा पृथक ढंगको सेवा दिनुपर्ने अवस्था रह्यो र त्यो गर्नैपर्ने पनि थियो यसर्थ यि यस्ता धेरैं योजनाहरु संघले संचालन गर्दा कतिपय अवस्थामा आर्थिक जोखिमता बढेकै हो । यो मैले भनिराख्नुपर्ने छैन, संघको विगतको आर्थिक प्रतिवेदनहरुले पनि त्यसलाई देखाईदिएको छ । यि बाहेक तपाईले हालको कुरा गर्न चाहनुभएको हो भने आर्थिक अवस्था चिन्ता गरिहाल्नुपर्ने छैन । हामीले संघको आर्थिक अवस्थालाई आम गैर आवासीय नेपाली माझ पुर्‍याउँदै आएका छौं । अव हाम्रो ध्यान योजना निर्माण गर्दा देखि त्यसको सम्पन्नता सम्म हुने आर्थिक लेखाजोखा हेरेर त्यसको व्यवस्थापनको पाटोलाई पनि केलाएर अघि बढ्ने हुन्छ ।

गैर आवासीय नेपाली संघको कोषाध्यक्षमा निर्वाचीत भएपछि यहाँले अहिलेसम्म के-के काम गर्नु भयो ?

सर्वप्रथम, म तपाई मार्फत सबैलाई के अनुरोध गर्दछु, हामी निर्वाचित नै भएका भने होईनौं । संघमा निकै जटिल परिस्थिति निर्माण भएको अवस्थामा संघलाई एकतावद्व बनाउनका लागि सबैको सक्रियतामा साझा ढंगवाट कार्यसमितिको चयन भएको हो । यही कार्यसमितिमा म सहित ३ जना साथीहरुलाई कोषाध्यक्षको भूमिका दिईएको हो । भनिन्छ, पद भन्दा कर्मले अर्थ राख्दछ । यही कुरालाई हेरेर हामीले प्राप्त जिम्मेवारीमा आफ्नो तर्फवाट न्याय गर्न खोजेका छौ भन्ने लाग्छ । सर्वप्रथम, आर्थिक पारदर्शितालाई महत्व दिई मासिक रुपमा संक्षिप्त आर्थिक प्रतिवेदन र त्रैमासिक रुपमा वृहत आर्थिक प्रतिवेदनलाई सार्वजनिक गर्ने काम गरेका छौं । हामीले जिम्मेवारी पाउँदाको आर्थिक अवस्थालाई सबै माझ पुर्‍याएका छौं, आर्थिक बुलेटिन बनाएर अघि बढाएका छौं । कुनै पनि कार्यक्रम संघ मार्फत गर्दा लाग्ने खर्च र त्यो कसरी व्यवस्थापन हुन्छ भन्ने कुरालाई महत्व दिएर मात्र हामीले आर्थिक दृष्टिकोणवाट आफ्ना धारणाहरु दिने गरेका छौं । संघ सबैको भएकाले संघको आर्थिक पाटो बारे जान्ने अधिकार सबैलाई रहन्छ यसमा हामी गम्भिर ढंगले अघि बढेका छौं । नेपाल र नेपाल बाहिर रहनुभएका आर्थिक विषयमा ज्ञाताहरुलाई राखेर आर्थिक प्रतिवेदनलाई परिक्षणको व्यवस्था मिलाएका छौं । समग्रमा भन्दा कोषाध्यक्षहरु, सहकोषाध्यक्षहरु लगायत सबै सम्बद्व व्यक्तिहरु समेटेर ट्रेजरी टिम मार्फत हामीले काम गरिरहेका छौं, आर्थिक प्रतिवेदनलाई संघको वेवसाईटमा राख्ने व्यवस्था पनि मिलाएका छौं ।

गैर आवासीय नेपाली संघलाई आर्थिक पारदर्शी बनाउन र अझ प्रभावकारी रुपमा संचालन गर्न आगामी योजनाहरु के-के छन् ?

मैले अघि पनि भने पद अनुसारको जिम्मेवारी वहन गर्नुपर्दछ, पदले मात्रै सबै गर्न सकिन्छ भन्ने होइन तर पनि तपाईको पहिलो दायित्व आफूलाई प्राप्त जिम्मेवारी अनुसारको भूमिका निभाउने तर्फ हुनुपर्दछ । हामीले पनि प्राप्त जिम्मेवारी अनुसारको काम गरिरहेका छौं । आर्थिक पारदर्शिताको विषयलाई हामीले प्राथमिकतामा राखेका छौं । अवको हाम्रो योजना भनेको संघलाई आर्थिक रुपमा सवल वनाउनका लागि नियमित आम्दानीको भरपर्दो स्रोतहरु कसरी तयार गर्न सकिन्छ भन्ने तर्फ रहेको छ । अर्को भनेको कार्यक्रमहरु गर्ने हो, विभिन्न प्रोजेक्टहरु चलाउने हो तर संघलाई दुरगामी रुपमा आर्थिक रुपमा असर गर्ने र संघको आर्थिक कोषलाई प्रयोग गर्ने गरी आउने योजना तथा कार्यक्रमका सन्दर्भमा हामी निर्मम नै भई त्यसमा आफ्ना रायहरु दिनैपर्ने हुन्छ, यसो गर्दा कसैलाई चित्त नबुझ्न पनि सक्छ, म तपाई मार्फत नै सबैमा अनुरोध के गर्न चाहन्छु भने संघलाई आर्थिक रुपमा सवल नबनाउने हो भने भविष्यमा ठूलो संकट आउन सक्छ, जसरी विचार र पद्दतीका कारण संघमा समस्यामा देखियो विगतमा भविष्यमा आर्थिक कारणले त्यो हुन सक्दछ, तसर्थ पनि सबै यसतर्फ पनि सचेत हुनु जरुरी छ ।

यहाँको विचारमा संस्थामा तीन/तीन जनाको नेतृत्व छ। अर्कोतर्फ शेष घले टिमबाट छुट्टै नेतृत्व छ, यो अवस्थामा गैर आवासीय नेपाली संघलाई एकताबद्ध बनाउन के गर्नुपर्ला जस्तो लाग्छ ?

हेर्नुहोस्, मैले अघि पनि भने यो कार्यसमिति संघलाई एकतावद्व बनाउनका लागि सबैको सक्रियतामा बनेको कार्यसमिति हो । हो ३ जना अध्यक्ष रहेको सन्दर्भको कुरा रह्यो, यसलाई विषम परिस्थितिका विच संस्थालाई सर्वोपरी ठानेर गरिएको निर्णयको रुपमा लिनुपर्दछ,यसमा थप मैले भन्नुपर्ने केही छैन, ३ जना अध्यक्ष सँगै सिंगो कार्यसमितिमा आउनुभएका सबै एनआरएनए अभियानमा लाग्नुभएकाहरु नै हुनुहुन्छ, सबैले केही न केही योगदान गर्नुभएकै छ । अव पछाडि फर्केर त्यसबारे छलफल गर्नुभन्दा अव राम्रो गर्ने दिशामा हामी सबै लाग्नुपर्दछ । रह्यो कुरा अर्को एनआरएनए पनि छ भन्ने सन्र्दभमा मलाई लाग्छ सबै मिलेर जाने बारे कहि न कहि छलफलहरु भैरहेको छ । संघका पूर्व अध्यक्ष शेष घलेको सक्रियताको पनि त्यसमा कुरा सुनिन्छ, मलाई त्यस्तो लाग्दैन, उहाँमात्र होइन सबै पूर्व अध्यक्षहरु, पूर्व पदाधिकारीहरु, संस्थापकहरु र समग्र अभियन्ताहरुलाई संघको माया छ । सबै मिलेर आगामी दिनहरु अघि बढाउने बारे पनि छलफल भएकै होला भन्ने लाग्छ यसमा मैले अरु थप भन्नुपर्ने हुन्छ जस्तो मलाई लाग्दैन ।

अन्तमा आम गैर आवासीय नेपालीहरुलाई तपाईको सन्देश के छ ?

संघ संस्था मात्रै नभएर तपाई हामी सबै गैर आवासीय नेपालीसँग जोडिएको अभियान भएकाले यसमा तपाई हामी सबैको उत्तिकै भूमिका रहन्छ । जिवन्त र सक्रिय संस्थामा कहिले काही विवादहरु आउन सक्छन् यसले पनि संस्थाको गतिमा असर त गर्ला तर मैले अघि पनि भने यो एउटा अभियान भएकाले थाक्ने छुट कसैलाई छैन । यसर्थ सबै गैर आवासीय नेपालीलाई अभियानमा निरन्तर सक्रियतापूर्वक लाग्न म अपिल गर्दछु ।


प्रकाशित | ११ असार २०७९, शनिबार १७:१५