७४९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक, ४ वटा पालिकाको परिणाम आउन बाँकी

काठमाडौँ । स्थानीय तह निर्वाचन मतपरिणाम आउने क्रममा बिहिबार बिहानसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५ महानगर, ११ उपमहानगरसहित ७४९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले ३२७ पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ । दोस्रोमा नेकपा एमालेले २०५ र तेस्रोमा नेकपा माओवादी केन्द्रले १२१ स्थानमा विजयी भएको छ । यस्तै जनता समाजवादी पार्टीले ३० स्थानमा विजयी हासिल गर्दै चौथो स्थानमा छ भने १ महानगर, १ उपमहानगरसहित २० पालिका जितेको नेकपा एकीकृत समाजवादीले २० स्थानमा विजयी हासिल गर्दै पाँचौ स्थानमा छ । लोकतान्त्रिक समाजवादी पार्टीले १६ पालिकामा प्रमुख पद जितेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले समान ४९४ पालिकामा प्रमुख पद जितेका छन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीले २ पालिकामा प्रमुख पद जित्दा नेपाल मजदुर किसान पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले १९१ पालिकामा प्रमुख पद जितेका छन् । यस्तै स्वतन्त्रबाट उठेका १२ जनाले पालिकामा प्रमुख पद हात पारेका छन् ।

काठमाडौं महानगरपालिकासहित ४ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । जसमध्ये बाजुराको बुढीगंगा नगरपालिकामा अझै मतगणना सुरू भएको छैन । अब आउन बाँकी रहेको पालिकामा प्रदेश १ बाट उदयपुरको त्रियुगा नगरपालिका छ । जहाँ नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । यस्तै बागमती प्रदेशको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन् । लुम्बिनीबाट रूपन्देहीको तिलोत्तमा नगरपालिकाको अन्तिम परिणाम आउन बाँकी छ । जहाँ नेपाली कांग्रेसले अग्रता लिइरहेको छ ।
यस्तै सुदूर पश्चिम प्रदेशबाट बाजुराको बुढीगंगाको अन्तिम परिणाम आउन बाँकी छ ।


प्रकाशित | १२ जेष्ठ २०७९, बिहीबार ०७:५५