सञ्चारमन्त्रीलाई छाडेर उडेको समाचारप्रति बुद्ध एयरले जनायो आपत्ति

काठमाडौ : नकुरी बुद्ध एयरले सञ्चारमन्त्रीलाई छाडेर एयर उडेको समाचारप्रति ध्यानर्कषण भएको जनाएको छ । सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई छाडेर उडेको भन्ने समाचार सञ्चार माध्यममा आएपछि बुद्ध एयरले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

बुद्धले एक विज्ञप्ती जारी गर्दै विभिन्न सञ्चारमाध्यममा संचारमन्त्री बाँस्कोटाको वैशाख २ गते भैरहवाबाट काठमाडौंको उडान छुटेको समाचार प्रकाशित गरेकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै मौसममा खरावी आउने सम्भावनालाई मध्यनजर गरेर तुरुन्तै काठमाडौं फर्कन वाध्य भएको स्पष्ट पारेको छ ।

बुद्धको विज्ञप्तीमा भनिएको छ, मौसम खराबीको कारण सो उडान यात्रु भरेर तुरुन्तै काठमाडौं फर्कनुपर्ने वाध्यता रहेको थियो । त्यसै अनुरुप सबै यात्रुहरुलाई विमानमा बसालिसकेका थियौं । त्यसको केही क्षणमै सहायक प्रमुख जिल्ला अधिकारीले फोन गरेर उडान रोक्नु, मन्त्रीज्यू र उहाँको टोली करिब २०–२५ मिनेट दुरीमा रहेको होटल टाईगर प्यालेस रिसोर्टबाट हिड्नु हुने भन्ने जानकारी दिनुभयो ।

यदि अर्को ३०–३५ मिनेट कुर्नु परेको भए मौसमका कारणले सो उडान भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउनसक्थ्यो जसबाट बाँकी ६८ जना यात्रुलाई असुविधा पर्नुका साथै आर्थिक व्ययभार पनि थपिन्थ्यो।’ बुद्धले सुरक्षित र सकभर समयमै उडान भर्नु आफ्नो पहिलो दायित्व भएको भन्दै व्यवस्थापकिय निर्णय अनुसार सो उडान भरेको बताएको छ ।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार १७:३१