लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थनमा

एजेन्सी : न्यु क्यासल युनाइटेडमाथि संघर्षपुर्ण जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थनमा उक्लिएको छ ।लिभरपुलले न्यु क्यासल युनाइटेडमाथि उसकै मैदानमा ३–२ को संघर्षपुर्ण जित निकालेको हो । लिभरपुलको जितमा भर्जिल भान डाइक, मोहम्मद सलाह र डिभक ओरिजीले गोल गरे । न्यु क्यासलका क्रिस्टियन अट्सु र जोसे सलोमन रन्डमले गोल गरे ।

निकै नै रोमाञ्चक बनेको खेलमा लिभरपुलले खेलको १३औं मिनेटमा भर्जिल भान डाइकको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले ट्रेन्ट एलेक्सन्डर अर्नाेल्डको पासमा हेडमार्फत गोल गरेका थिए । २०औं मिनेटमा क्रिस्टियन अट्सुले घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।

२८औं मिनेटमा मोहम्मद सलाहले अर्नाेल्डकै पासमा गोल गर्दै लिभरपुललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । त्यअघि २६औं मिनेटमा न्यु क्यासलका पेरेजको प्रहार बारमा लागेर फर्किएको थियो ।

५४औं मिनेटमा जोसे सलोमनले खेललाई पुन २–२ गोलको बराबरीमा ल्याए । जेभियर माक्विलोको कर्नरमा लिभरपुलका खेलाडीले क्लियर गर्न नसकेको बललाई सलोमनले जाली चुमाउदा गोलरक्षकएलिसन बेकरले रोक्ने कुनै मौका नै पाएन ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डिभक ओरिजीले गोल गर्दै लिभरपुललाई ३–२ को महत्वपुर्ण जित दिलाए । ओरिजी ७३औं मिनेटमा फरवार्ड मोहम्मद सलाहको स्थानमा मैदानमा प्रवेश गरेका थिए । मोहम्मद सलाह इन्ज्युरी हुदै मैदानबाट बाहिरिनु परेको थियो ।

महत्वपुर्ण जितसँगै लिभरपुलले शीर्ष स्थानमा २ अंकको अग्रता लिदै उपाधिका लागि म्यानचेस्टर सिटीमाथि दवाव बढाएको छ । लिभरपुलको ३७ खेलबाट ९४ अंक रहेको छ । एक खेल कम खेलेको सिटीको ९२ अंक छ । सिटीले सोमबार राति लेस्टर सिटीसँग खेल्दैछ ।

लिभरपुललाई प्रिमियर लिग च्याम्पियन बन्न बाँकी एक खेलमा जित निकाल्नुका साथै सिटीले अंक गुमाउने पर्ने हुन्छ । अन्तिम खेलमा लिभरपुलले वल्भ्ससँग १२ मे मा प्रतिस्पर्धा गर्दैछ । सिटीले लेस्टर सिटी र ब्राइटनसँग खेल्न बाँकी छ ।


प्रकाशित | २२ बैशाख २०७६, आईतवार ०६:३८