समुद्री आँधी ‘फानी’ को प्रभाव: सगरमाथा क्षेत्रमा हजारौ पाल उडायो, दशौँ लाखको क्षती भएको आकलन

काठमाडौं: समुद्री आँधी फानीले सगरमाथा क्षेत्रमा दशौ लाखको क्षति भएको आकंलन गरिएको छ । फानीको प्रभाका कारण सगरमाथा र कञ्चनजङ्घा जस्ता हिमाली भेगमा हावाहुरी र हिमपात भएको थियो। ३४ आरोहीहरू र तिनका सहयोगीहरू रहेको कञ्चनजङ्घा आधार शिविरबाट ताजा विवरण आइसकेको छैन तर फानी आँधीको प्रभाव देखिएपछि सम्भवत सबैभन्दा धेरै क्षति सगरमाथाको उच्च हिमाली क्षेत्रमा परेको प्रारम्भिक आकलन त्यहाँ रहेका आरोहीहरूले गरेका छन्।

शुक्रवारको आँधी हुरीले गर्दा सगरमाथा आरोहणको क्रममा दोस्रो (६,५०० मिटर) र तेस्रो शिविरमा ठड्याइएका लगभग १०० त्रिपालहरूमा क्षति पुगेको नेपालको पहिलो सगरमाथा उचाइ मापन आयोजनाका क्रममा सगरमाथा आधार शिविरमा रहेका प्रमुख नापी अधिकृत खिमलाल गौतमले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हावाहुरीले गर्दा दुवै शिविरमा गरेर सय वटा जति पालहरू उडाएको छ। हाम्रो खाना राख्ने र खाने पालहरू पनि उडाएको छ। केही पाल त फेरि प्रयोग गर्नै नमिल्ने गरी क्षतिग्रस्त हुन पुगेका छन्। उहाँको अनुमानमा शुक्रवारको हावाहुरीका कारण सगरमाथामा माथिल्ला शिविरमा पाल उडाउँदा वा नष्ट हुँदा दशौँ लाख रुपैयाँ बराबरको क्षति हुन पुगेको छ।

अब ती पालका स्थानमा नयाँ पाल लैजानु पर्ने हुन्छ। खानेकुरा र अन्य सामान पनि नयाँ लैजानु पर्छ। त्यसपछि मात्रै आरोहणका कार्यक्रमहरू अगाडि बढ्छन्।   यो वसन्त ऋतुमा ३७७ आरोहीहरूले सगरमाथा चढ्ने अनुमति लिइसकेका छन्। नुप्से, लोत्से र पुमोरी हिमाल आरोहीहरू समेत गरेर सगरमाथा आधार शिविरमा अहिले करिब ५०० आरोहीहरू रहेका छन्। बीबीसी नेपाली सेवाको सहयोगमा


प्रकाशित | २१ बैशाख २०७६, शनिबार १६:५३