आज १६ औँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं : आज १६ औँ लोकतन्त्र दिवस देशैभरि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले विसं २०५९ जेठ ८ गते विघटन गरेको संसद् विसं २०६३ वैशाख ११ गते पुनस्र्थापना गरेका थिए ।

जनआन्दोलनबाट संसद् पुनर्स्थापना भएको सम्झनामा २०६४ सालदेखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन नेकपा (माओवादी) बीच २०६२ साल मङ्सिरमा १२ बुँदे समझदारी भएको थियो ।

त्यसपछि ज्ञानेन्द्र शाहले २०६३ साल वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गरेका हुन् । २०६३ साल जेठ ४ गतेको संसद्ले राजाको अधिकार कटौती गरेको थियो ।

बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधान सभाको चुनाव गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसैको जगमा २०६४ साल चैत २८ गते पहिलो संविधान सभा चुनाव भयो । संविधान सभाको २०६५ साल जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो ।

२०७० साल मङ्सिर ४ गते दोस्रो संविधान सभा चुनावबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको थियो ।


प्रकाशित | ११ बैशाख २०७९, आईतवार ०८:४४