कोरोनाविरुद्धको खोप खेर जाने अवस्थामा, खोप अभियानमा सहभागि हुन सरकारको अपिल

काठमाडौँ । नेपालमा कोरोना विरुद्धको खोप खेर जाने सम्भावना बढेर गएको छ । वैशाख दोस्रो सातासम्म जोनसोन र एस्ट्राजेनिकाको १३ लाख मात्रा खोप लगाइ नसके खेर जाने अवस्थामा रहेको छ । किनभने वैशाख १७ सम्म मात्रै सो खोप लगाउन मिल्छ । अब अप्रिलको अन्त्यसम्म सो खोप सकाउन दैनिक ७६ हजार ४७१ जनालाई लगाउनै पर्छ ।

यद्यपि पछिल्लो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क केलाउँदा कोभिड विरुद्धको खोप लगाउने दर क्रमशः घट्दै गएको छ । सोमबार देशभर जम्मा १५ हजार ३३५ जनाले मात्र कोरोना विरुद्धको खोप लगाएका छन् । २७ चैत अर्थात् आइतबार २० हजार ८२८ जनाले, २५ चैतमा २६ हजार ४५ जनाले खोप लगाएका थिए । यस्तै, २४ चैतमा ५० हजार ९३ जना, २३ चैतमा ५६ हजार २२७ जना, २२ चैतमा १७ हजार ७५५ जना र २१ चैतमा ६० हजार ७२ जनाले खोप लगाएका थिए ।

यसरी क्रमशः खोप लगाउनेको सङ्ख्या कम हुँदै गएको खण्डमा कोरोनाविरुद्धको खोप खेर जाने सक्ने सम्भावना प्रबल रहेको स्वास्थ्य सेवा विभागले बताएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापनका अनुसार केन्द्रीय भण्डारण केन्द्रमा तीन लाख मात्रा र मात्रा प्रदेश र स्थानीय तहका खोप केन्द्रमा १० लाख जोन्सोन र एस्ट्राजेनिका खोप रहेको छ ।

नेपालमा हालसम्ममा जनसङ्ख्याको ६६.१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै, कम्तीमा एक मात्रा खोप लगाउने ७५.७ प्रतिशत छन् । एकातिर सरकारले खोप दिने लक्ष्य पुरा गर्न सकेको छैन भने अर्कोतिर खोप खेर जाने अवस्थामा पुगेको छ । खोप नलगाएकाहरुले खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ ।


प्रकाशित | ३० चैत्र २०७८, बुधबार ०८:३७