नवौँ पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण श्रेष्ठ

भक्तपुर : मध्यपुरथिमिको बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष पनि बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडाउनुहुने भएको छ । श्रेष्ठले यसअघि आठै पटक जिब्रो छेडाइसक्नु भएको छ ।

बुद्धकृष्णले यस वर्ष आफूले अन्तिम पटक जिब्रो छेड्न लागेको बताउनु भयो । युवापुस्ता जिब्रो छेड्न तयार नभएपछि जात्रालाई निरन्तरता दिनको लागि अन्तिम पटक छेडाउन लागेको उहाँले बताउनु भयो ।

जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि केही नखाइ व्रत बस्नुपर्छ । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नुनसमेत खान नहुने चलन छ ।

व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र जिब्रो छेड्ने पाँचो गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेडेर महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने र भोज खाने प्रचलन छ ।

परापूर्वकालदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा सयौँ वर्षदेखि कोरोना सङ्क्रमणका कारण विसं २०७६ मा रोकिए पनि त्यसपछि फेरि जात्राले निरन्तरता पाउँदै आएको छ ।

जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि त्यो सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ । अहिलेसम्म १२ जनाबाट निरन्तर एक सय सात वर्ष जिब्रो छेडेका छन् ।


प्रकाशित | २७ चैत्र २०७८, आईतवार १४:२७