देउवा र मोदीले आज संयुक्तरुपमा रेलवे सेवाको उद्घाटन गर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट आज शनिबार नेपाल रेल सेवाको उद्घाटन गर्नुहुने भएको छ । प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीले शनिबार दिउँसो साढे १२ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट रेल सेवाको अर्चुअल उद्घाटन गर्नुहुने भएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले भर्चुअल उद्घाटन गर्ने कार्यक्रम रहेको बताउनुभयो । त्यसका लागि जनकपुर रेल्वे स्टेशनमा मण्डल निर्माण गरिएको छ । जयनगरमा अतिविशष्ट व्यक्तिहरु रहने र त्यहाँबाट प्रोजेक्टरमा दिल्लीमा हुने उदघाटन कार्यक्रम देखाइने छ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले उदघाटन गरेपछि रेल कुर्थाका लागि प्रस्थान गर्नेछ ।

प्रत्येक स्टेशनमा स्कुलका बालबालिकाहरु नेपाल भारतको झण्डा लिएर रेलको स्वागत गर्नेछन् । उनीहरुलाई समेत त्यही रेलमा चढाएर कुर्था ल्याइनेछ । भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग तीन खण्डमा बनिरहेको छ । परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना रहेकोे छ ।

१९९४ सालमा इस्ट इन्डिया कम्पनी सरकारले नेपालको जंगलबाट काठ लैजानका लागि रेल्वे लाइन विस्तार गरिएको थियो । त्यो बेला कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो । पछि भारत सरकारले १८ वटा बग्गीसहित बाष्प इन्जिन सहयोग गरेको थियो भने सो सेवा २०६१ माघबाट बन्द भएको थियो ।


प्रकाशित | १९ चैत्र २०७८, शनिबार ०८:४५