स्थानीय चुनावमा गठबन्धनमा आबद्ध दलहरूसँग तालमेल गर्ने कांग्रेसको निर्णय

काठमाडौं – नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ । मंगलबार सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताको आधारमा गठबन्धनका दलहरूसँग तालमेल गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय बारे जानकारी दिँदै प्रवक्ता प्रकाशशरण महतले कांग्रेसलाई अझ सबल र व्यापक बनाउनका लागि गठबन्धन दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णय सर्वसम्मत् रूपमा गरिएको बताउनुभयो ।

‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझ सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नितिगत निर्णय यो बैठक गर्दछ,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रिया अनुरुप कार्य अगाडी बढाइनेछ ।’

गठबन्धन दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्न पार्टीले केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र बनाउने प्रवक्ता महतले जानकारी दिनुभयो ।

पार्टी विधानले दिएको अधिकारका आधारमा सम्बन्धित तहले तालमेलको निर्णय गर्ने र पार्टी केन्द्रले आवश्यक निर्देशन र व्यवस्थापन मिलाउने उहाँले बताउनुभयो ।

केन्द्रीय समिति बैठकले २०७८ फागुन ३० गते सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरूलाई अनुमोदन समेत गरेको छ ।

त्यस्तै, नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ४ बमोजिम देशव्यापी रूपमा नेपाली कांग्रेसको सदस्यता र नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय पनि गरेको छ ।

कांग्रेसले पार्टी उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको छ । समिति सदस्यहरू भने सभापति देउवाले आवश्यक परामर्श लिई पूर्णता दिने जनाइएको छ ।

त्यसैगरी प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा केन्द्रीय प्रचार–प्रसार समितिको गठन गरेको बताइएको छ ।

बैठकले प्रदेश सभाका सदस्य र प्रदेश मन्त्रिपरिषद् सदस्यले सम्बन्धित प्रदेशसभा संसदीय दल मार्फत आफूले प्राप्त गर्ने मासिक पारिश्रमिकको २० प्रतिशत रकम २०७९ वैशाख १ गतेदेखि प्रदेश सभा संसदीय दलले पार्टीको सम्वन्धित प्रदेश कार्य समितिको खातामा जम्मा गर्नुपर्ने निर्णय पनि गरेको छ ।


प्रकाशित | १५ चैत्र २०७८, मंगलवार १९:०६