गौरीशंकर संरक्षण क्षेत्रमा हिउँ चितुवा

उषा तमाङ/दोलखा

गौरीशंकर संरक्षण क्षेत्रमा हिउँ चितुवाको उपस्थिति आधिकारिक रुपमा प्रमाणित भएको छ । संरक्षण क्षेत्र भित्र पर्ने विगु गाउँपालिका वडा नम्बर १ साविक लामाबगर गाविस १ को लप्ची उपत्यकामा हिउँ चितुवाको उपस्थिति रहेको पाइएको हो । संरक्षण क्षेत्र आयोजनाले सञ्चालन गरेको क्यामेरा ट्रापिङबाट उक्त क्षेत्रमा विश्वमै दुर्लभ मानिने हिउँ चितुवा (अन्सिया अन्सिया) को उपस्थिति आधिकारीक रुपमा प्रमाणित भएको जनाएको छ ।

गौरिशंकर संरक्षण क्षेत्र आयोजनाले आज सिंगटीमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषबाट स्वीकृत जैविक विविधता अध्ययन अनुसन्धान कार्यक्रम अन्र्तगत गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले लप्ची उपत्यकाका विभिन्न ११ स्थानमा इन्फ्रारेड क्यामरा (फोटो, भिडियो) खिच्ने क्यामरा २०७५ साल असोज महिनामा जडान गरिएको थियो ।

उक्त अवधि देखी २०७६ बैशाख सम्म गरेको अनुसन्धानले समुद्री सतहबाट ४ हजार ८७ मिटर माथि हिउँ चितुवाको ३ वटा तस्वीर रेकर्ड गरेको अनुसन्धानमा संलग्न पोखरा विश्वविद्यालय, नेपाल इन्जिनियरीङ कजेल, स्नात्तकोत्तर अध्ययन केन्द्रका उपप्राध्यापक डाक्टर नारायण पंसाद कोजुले जानकारी दिनुभयो । गौरिशंकर संरक्षण क्षेत्रमा ३ देखी ५ वटा सम्म हिउँ चितुवा रहेको अनुमान गरिएको छ ।

हिउँ चितुवा मध्य एशिया र हिमालय पर्वतमा मात्र बसोबास गर्ने प्राणी हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसुचि १ मा रहेको यस जीवलाई अन्तर्राष्ट्रिय संरक्षण संघले समेत दुर्लभ प्रजातिको रुपमा सुचीकृत गरेको छ । हिउँ चितुवा विश्वमा १० हजार भन्दा कम संख्यामा जिवित रहेको अनुमान छ भने नेपालमा ३ सय देखी ५ सय रहेको अनुमान गरिएको छ ।  नेपालको कञ्जनजंघा, मकालु बरुण, सगरमाथा लाङटाङ, मनासलु, अन्नपुर्ण, शे फोक्सुण्डो, ढोरपाटन, अपिनाम्पा क्षेत्र लगाएतका हिमाली क्षेत्रहरुमा हिउँ चितुवाको उपस्थितिको रेकर्ड गरिएको छ ।

यसैगरि अनुसन्धानका क्रममा विगतमा रेकर्ड नभएको सुनौलो विरालो (गोल्डेन क्याट) समेत रेकर्ड भएको छ । चरिबाघ, कस्तुरी मृग, पहरे बाँदर जस्ता संरक्षित जनावर तथा हिमाली कालो भालु, तिब्बती फ्याउरो, झारल, घोरल, नाउर, चितुवा, रातो फ्याउरो गरि १५ विभिन्न प्रजातिका स्तनधारी जनावरहरु भेटिएको थियो ।

लप्ची उपत्यकामा कुल ११ क्यामरा जडान गरिएकामा २ वटा क्यामरा चोरी भएको गौरिशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण शाहले जानकारी दिनुभयो । क्यामरा चोर्ने व्यक्तिको खोजी भइरहेको उहाँको भनाई छ ।  गौरिशंकर संरक्षण क्षेत्रमा हिउँ चितुवाको उपस्थिती रहेको पुष्टि भए सँगै संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड छ । दोलखाको स्थानीय कालिञ्चोक एफएमको सहयोगमा ।


प्रकाशित | २२ जेष्ठ २०७६, बुधबार २२:३२