युक्रेनमा चौबीसौं दिनसम्म पनि रुसको निरन्तर आक्रमण, ब्यारेकमा हमला हुदाँ सय बढी हताहत

काठमाडौँ –युक्रेनमा चौबीसौं दिनसम्म पनि रुसले निरन्तर आक्रमण गरिरहेको छ । पछिल्लो पटक दक्षिणी युक्रेनमा सेनाको ब्यारेकमा भएको हमलामा १०० जनाको हताहत भएको अनुमान गरिएको छ । युक्रेनको दक्षिणी माइकोलिभ शहरस्थित ब्यारेकमा भएको रुसी हमलामा १०० को हताहत भएको हुनसक्ने साक्षी र अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । समाचारमा जनाइएअनुसार सो क्षेत्रमा ६ ओटा रकेटहरू प्रहार भएका थिए ।

‘एउटा विशाल बिस्फोट’, एक स्थानीय निकोलाईले एएफपीलाई भने । बिस्फोटले सो क्षेत्रका धेरै भवनहरु क्षतिग्रस्त बनेका छन् । ‘ब्यारेकमा कमसेकम २०० सैनिक थिए’, २२ वर्षीय म्याक्सिमले भने । ब्यारेक नजिकै रहेका म्याक्सिन विनाशको मात्रा देखेर त्रसित छन् ।

‘कम्तीमा ५० शवहरु निकालिएका छन् । तर, भग्नावशेषमुनि कति छन् थाहा छैन’, उनले भने । अर्का सिपाही येभगेनीका अनुसार ब्यारेक हमलामा १०० जना मारिएका हुन सक्छन् । मृत्युबारे अहिलेसम्म आधिकारिक भनाइ सार्वजनिक भएको छैन ।

युक्रेनी अधिकारीहरूका अनुसार ओडेसाको प्रमुख रणनीतिक सैन्य बन्दरगाहको ‘ढाल’ को रूपमा वर्णन गरिएको माइकोलिभले रूसी आक्रमणको प्रतिरोध गर्दै आएको थियो ।


प्रकाशित | ६ चैत्र २०७८, आईतवार १२:३२