साउदी अरबका राजकुमार काठमाण्डौ आइपुगे, द्विपक्षीय वार्ता हुने

काठमाण्डौ – साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद काठमाडौंमा आइपुग्नु भएको छ । राजकुमार २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा आज साँझ आउनु भएको हो ।

राजकुमारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र नेपालका रहेको साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।

नेपाल भ्रमणका क्रममा राजकुमारले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने छ । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भने  मङ्गलबार द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

मन्त्री खड्काले राजकुमारसहितका साउदी प्रतिनिधिमण्डललाई नेपाल सरकारका तर्फबाट दिवा भोजको आयोजना गर्नुहुनेछ ।

साउदी अरब नेपाली श्रम गन्तव्यको प्रमुख देशका रूपमा गनिन्छ । त्यहाँ चार लाखभन्दा बढी नेपाली नागरिक श्रमका लागि  त्यहाँ रहेको मन्त्रालयले जनाएको छ ।


प्रकाशित | ३० फाल्गुन २०७८, सोमबार २०:१७