एनआरएनए अध्यक्षमा केसी र थापाको उम्मेदवारी दर्ता

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसी र रविना थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ । एनआरनएनएको वर्तमान उपाध्यक्ष समेत रहनु भएको केसीले सोमबार अनलाईनमार्फत र महिला उपाध्यक्ष रहनु भएको थापाले मंगलबार दिउँसो उम्मेदवारी दर्ता गर्नु भएको हो ।

अन्तर्राष्ट्रिय नारी दिवसकै दिन एनआरएनए सचिवालयमै पुगेर उम्मेदवारी दर्ता गर्नु भएको थापाले एनआरएनएमा महिलाले नेतृत्व लिनुको कुनै विकल्प नभएको बताउनु भयो । ‘महिला सशक्तिकरणको सुरुवात हामीले आफैबाट गरौं, म आफैबाट सुरुवात गरेको छ’, थापाले भन्नु भयो, ‘आशा छ, तपाईहरुले साथ दिनु हुन्छ । परिवर्तनको लागि महिला, संस्थागत विकासको लागि महिला।’

 उम्मेदवारी दर्तापछि अध्यक्षकी उम्मेदवार रविना थापा र महासचिवको उम्मेदवार विनय अधिकारलगायत सहभागि । 

उता एनआरएनए सल्लाहकार समेत रहनु भएको कुल आचार्यले यसअघि नै प्रतिनिधि विवाद समाधान नभई गरिने निर्वाचनमा सहभागि नहुने बताइसक्नु भएको छ । आचार्य निर्वाचनमा सहभागि नभए केसी र थापाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।  निर्वाचनमा ३ हजार ५९० जना प्रतिनिधि छन ।

रसियामा बस्दै आउनु भएको केसीले एनआरएनएमा कोषाध्यक्ष, दुई कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्षको जिम्मेवारी समालीसक्नु भएको छ । अमेरिका निवासी थापाले एनआरएनए अमेरिकाको उपाध्यक्ष हुँदै आइसिसी महिला उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । 

त्यस्तै, महासचिवमा अमेरिकाबाट गौरीराज जोशी र युकेबाट विनय अधिकारीले उम्मेदवारी दर्ता गर्नु भएको छ । जोशी हाल सचिव हुनुहुन्छ भने अधिकारी ग्लोबल गोरखा समाजको अध्यक्ष हुनुहुन्छ ।

यही २१-२२ मार्चमा ६० पदका लागि हुन गइरहेको निर्वाचनका लागि सोमबारदेखि उम्मेदवारी दर्ता शुरु भएको हो । यसअघि उम्मेदवारी दर्ता मंगलबार आज ८ मार्च साँझ ५ बजेसम्म तोकिएकोमा तीन दिन थप्दै ११ मार्च अर्थात शुक्रबार साँझ ५ बजेम्म तोकिएको छ ।

निर्वाचन समितिले अहिले पनि उम्मेदवारी दर्ता भइरहेको र उम्मेदवारी आउने क्रम जारी रहेको जनाएको छ । अहिलेसम्म २० जनाको हाराहारीमा उम्मेदवारी दर्ता भइसकेको र अन्यको ईमेल चेक गर्ने कार्य भइरहेको समितिका एक सदस्यले जानकारी गराए ।

एनआरएनएको उम्मेदवारी दर्ता गर्न अध्यक्षका लागि १० लाख रुपैयाँ, उपाध्यक्षका लागि ७ लाख रुपैयाँ, महासचिवका लागि ६ लाख रुपैयाँ, सचिव तथा कोषाध्यक्षका लागि ५ लाख, सह–कोषाध्यक्षका लागि ४ लाख रुपैयाँ तोकिएको छ ।

त्यस्तै, महिला तथा युवा संयोजकका लागि तीन लाख ५० हजार रुपैयाँ, क्षेत्रीय संयोजकका लागि तीन लाख ५० हजार रुपैयाँ, क्षेत्रीय उप–संयोजकका लागि दुई लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजकका लागि दुई लाख ५० हजार रुपैयाँ र क्षेत्रीय युवा र महिला उपसंयोजकको लागि दुई लाख रुपैयाँ उम्मेदवार मनोनयन दर्ता शुल्क तोकिएको छ ।


प्रकाशित | २४ फाल्गुन २०७८, मंगलवार १५:११