पर्यटकीय पूर्वाधार विकासमा बाह्रबिसे नगरपालिकाको यस्ता छन् महत्वकांक्षी योजना

दिनेश दुलाल / बाह्रबिसे (सिन्धुपाल्चोक)

आफ्नो नगरलाई पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ बाह्रबिसे नगरपालिकाले पर्यटन पूर्वाधार विकासमा जोड दिएको छ । नगरपालिकाले नगरपरिषद्बाटै पारित गरेर भयलीकुण्ड लगायत क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन १० औं करोडको महत्वकांक्षी योजनाको थालनी गरिसकेको छ । सोही योजनाको पहिलो चरण अन्र्तगत भयलीकुण्ड सम्म पुग्ने सडक, कुण्ड निर्माण तथा खेलमैदान लगायत पूर्वाधार निर्माणको अन्तिम चरणमा पुगेको बाह्रबिसे नगरपालिकाका नगर प्रमुख निम्फुन्जो शेर्पाले जानकारी दिनुभयो ।

उहाँको अनुसार धार्मिक तथा पर्यटकीय स्थल भयलीकुण्ड सम्म पुग्ने मोटरबाटो, भयलीकुण्डको संरक्षण तथा खेलुद मैदानको लागि अग्निप्रसाद सापकोटाद्वारा सांसद विकास मार्फत ३० लाख र बाह्रबिसे नगरपालिकाद्वारा १५ लाख बजेट छुट्याईएको हो । जस अनुसार मान्द्रा देखि ६ किमी सडकको नगरको सिमाना टिकटिके सम्म नयाँ ट्रयाक ले जोडिएको छ । मेयर शेर्पाका अनुसार बाह्रबिसे नगरपालिकाको टिकटिके सम्म पुगेको ट्र्याक भोटेकोशी गाउँपालिकाले ३५ किमी सम्म बढाउने हो भने नयाँ ट्र्याकले खासा जोडिने छ ।

यो रुट तातोपानी सडक भन्दा कम जोखिम र नजिक रहेको छ । भविश्यमा सजिलो र भरपर्दो नयाँ ट्र्याकको विकास गर्न पनि उक्त ट्र्याकलाई भयलीकुण्ड हुँदै टिकटिके सम्म विस्तार गरिएको मेयर शेर्पाले बताउनुभयो । त्यस्तै भूकम्पका कारण जिर्ण रहेको भयलीकुण्डको पुरानो संरचनालाई बदली ८० मिटर लम्बाई तथा ६० मिटर चौडाईको नयाँ कुण्ड निर्माण गरिएको छ ।

कुण्ड निर्माणमा ढुङ्गा विछ्याउने काम अन्तिम चरणमा पुगेको र कुण्ड वरीपरी रेलिङ हाल्ने काम मात्र बाँकी रहेको नगर प्रमुख शेर्पाले वताउनुभयो । कुण्डको बीच भागमा मन्दिर भने नगरकै आगमी योजनामा पारेर निर्माण गरिने उनले बताउनुभयो । ’भयलीकुण्ड पुग्ने सडक देखि कुण्ड निर्माण तथा खेलकुद मैदान समेत निर्माण अन्तिम चरणमा पुगेको छ‘, नगरप्रमुख शेर्पाले भन्नुभयो ।

तीनवटा पूर्वाधार निर्माण गर्न ४५ लाख वजेट रहेपनि एक करोड माथिको काम भएको नगर प्रमुख शेर्पाले दावी गर्नुभयो । धार्मिक र पर्यटकीय हिसाबले प्रख्यात भयौलीकुण्डको संरक्षण गर्न सुरु गरिएपछि आन्तरिक तथा वाह्य पर्यटन वृद्वि हुने मान्द्राका स्थानीय राजेन्द्र शेर्पाको तर्क छ ।

अनुसार यहाँ हरेक वर्ष जनैपूणिर्मामा लाग्ने मेलमा दर्शन गर्नका सयौं भक्तजन आउने गर्दछन् । यसैगरी सोही योजना अन्र्तगतको भयलीकुण्ड नजिक १२७ मिटर लम्बाई र ६० मिटर चौडाई रहेको खेलमैदान समेत निर्माण गरिएको छ । सम्भव त यो जिल्लाकै सबैभन्दा अग्लो स्थानमा भएको खेलमैदान हो । उक्त खेल मैदान सो क्षेत्रकै फुटबल मैदानको रुपमा विकास गरिने नगरको योजना छ ।
यसैबीच उक्त तीनवटै योजनाको अनुगमन बुधबार प्रतिनिधिसभा १ नम्बर क्षेत्रका सांसद अग्निप्रसाद सापकोटा र बाह्रबिसे नगारपाकिाका मेयर निफुन्जो शेर्पा लगाएतले गर्नु भएको छ ।

उक्त तीनवटा योजना निर्माणको लागि निर्वाचन क्षेत्र पूर्वाधार विकासकोषबाट ३० लाख रुपैयाँ हालिएको सांसद सापकोटाले जानकारी दिनुभयो । ’कामको प्रकृति हेर्दा निकै राम्रो गरेको पाईयो, आवश्यक अनुसार आगमी दिनमा समेत बजेट हालिनेछ, अनुगमन गरेर फर्कनुभएका सापकोटाले भन्नुभयो ।

३५ सय उचाईमा भ्यु टावर 

पर्यटकीय तथा धार्मिक स्थल भयलीकुण्डलाई लक्षित गरेर भयलीकुण्डकै सबैभन्दा माथिल्लो थुम्कोमा भ्यु टावर राख्ने योजना नगरपालिकाले बनाएको छ ।  ३५ सय उचाईमा रहने उक्त भ्यु टावर निर्माणको लागि नगरपालिकाले डिपीआर तयारीको अन्तिम अवस्थामा रहेको नगर प्रमुख शेर्पाले जानकारी दिनुभयो ।

५० करोड भन्दा माथि खर्च लाग्ने नगरपालिकाको महत्वकांक्षी योजनाको रुपमा उक्त भ्यु टावर आगमी केन्द्रीय योजनामा पारेर सुरुवात गरिने उहाँले बताउनुभयो ।  उहाँका अनुसार उक्त भ्यु टावरबाट नगरकोट, धुलीखेल पाँचखाल, चौतारा र बाह्रबिसे लगाएत स्थानको अवलोकन गर्न सकिने छ ।

टावर निर्माण स्थलमा पुग्न भयलीकुण्डबाट आधीघण्टा समय लाग्ने छ । भ्यु टावरसम्म पुग्नको लागि भयलीकुण्डबाट सिंडी हालिने योजना रहेको छ । भ्यु टावर निर्माण संगै आन्तरिक तथा वाह्य पर्यटक ३०० सम्मको लागि आवास तथा भोजनको लागि थ्रि स्टारकै शैलीमा होटल निर्माण गरिने नगर प्रमुख शेर्पाले कथन छ । सो भेगमा प्राकृतिक रुपमा पाईने कालिज, बँदेल लगाएत बन्यजन्तुको संरक्षण गर्ने तथा छुट्टै पालनको अनुमति लिई व्यवसायीक रुपमा बँदेल, कालिज, चौरीबाट बन्ने छुर्पी, निउरो, आलु लगाएत अर्गानिक बस्तुको उत्पादन गराउने नगरको योजना रहेको उहाँले प्रष्ट्याउनुभयो ।

आनी गुम्बा  

बाह्रबिसे नगरपालिकाको वडा नम्बर ६ अन्र्तगत मान्द्रामा आनी गुम्बा स्थापना गरिएको छ । बौद्व महासंघद्वारा आफ्नै लगानीमा १० रोपनी क्षेत्रफलमा निर्माण गरिएको उक्त गुम्बाको लागि जग्गा भने नगरप्रमुख निमफुन्जो शेर्पाले उपलब्ध गराईदिनु भएको हो । गुम्बाको लागि घेराबार, बत्ती, खानेपानी लगाएतका काम भने नगरपालिकाद्वारा सहयोग गरिने मेयर शेर्पाले बताउनुभयो ।

४५ जना आनीहरु बस्ने क्षमता रहेको उक्त गुम्बामा हाल २५ जना आनीहरु बसेको गुम्बा संरक्षण समितिका संयोजक छ्योकी वाङचुङ लामाले बताउनुभयो । उनका अनुसार बौद्व भिक्षु बन्न चाहानेहरुका लागि निशुल्क बौद्व सम्बन्धी पठनपाठन तथा खानपिनको समेत व्यवस्था सोही संस्थाले गर्नेछ । उक्त क्षेत्रलाई किबी तथा स्याउ र आलुको पकेट क्षेत्र निर्धारण गरी आगमी बर्षहरुमा व्यवसायी रुपमै सुरुवात गर्न चाहानेहरुलाई नगरपालिकाले सहयोग गर्ने मेयर शेर्पाले बताउनुभयो ।

निर्माणधीन मध्यभोटेकोशी जलविद्युत आयोजनाको पावरहाउस जम्बु नजिकैबाट केहीबेरमा यहाँ पुग्न सकिन्छ । नगरपालिकाको विकट क्षेत्र भए पनि पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएकाले नगरपालिकाले भौतिक पूर्वाधार निर्माण लगायतका काम पनि गरिरहेको हो । जिल्लाको उच्च क्षेत्रमा रहेका ताल र कुण्डहरु मध्ये भयौलीकुण्डलाई पनि उच्च स्थानमा राखिएको छ । त्यस्तै मान्द्रामा रहेको आनी गुम्बाले पनि सो क्षेत्रको आकार्षक बढाएको कारण पुराना बस्तीहरु पूर्ववत अवस्थामा फर्किन थालेका छन् ।


प्रकाशित | १९ बैशाख २०७६, बिहीबार ११:३९