पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी,तीन लाख भक्तजनले गरे दर्शन

काठमाडौँ-महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ । बिहान ११ बजेसम्म पशुपतिनाथ मन्दिरमा करिव तीन लाख भक्तजनले दर्शन गरेका छन् ।

बिहान आठ बजेसम्म भक्तजनले सहज रुपमा लाइनमा बसेर दर्शन गर्न पाएका थिए । बिहान आठ बजेअघि २० मिनेटदेखि आधा घण्टामा भक्तजनले मन्दिरभित्र प्रवेश गरेर बाहिर आएका पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बिहान चिसोमा कम भक्तजन भएकाले चाँडै जाने भक्तजनलाई दर्शन एवं पूजा आराधनानामा सहज भएको हो । आठ बजेपछि भने लाइन बढ्न थालेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो।

अहिले पूर्वतर्फको लाइन गुह्येश्वरी मन्दिर नजिक, उत्तरतर्फको लाइन चावहिल चोकमाथि, पश्चिमतर्फको लाइन जयवागेश्वरी घुमेर गौशाला नजिक र दक्षिणतर्फको लाइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक पुगेको उहाँले बताउनुभयो ।

महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथ मन्दिरभित्र गई १० लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क रुपमा पिउने पानी, भोजन, गुर्जो चियासहित ६० प्रकारका जडिबुटीबाट बनेको चियाको धुलो, स्वास्थ्य शिविरलगायत सेवा प्रदान गरिएको छ ।

पशुपति क्षेत्रका १० स्थानबाट आज निःशुल्क गुर्जो चिया र धुलो वितरण भइरहेको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिनुभयो।आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो । आज रातिसम्म पशुपतिनाथमा दर्शन गर्न चाहनेका लागि सेवा दिइने कोषले जनाएको छ ।


प्रकाशित | १७ फाल्गुन २०७८, मंगलवार ११:५९