नेपाल टेलिकमलाई गुणस्तरीय, सस्तो र भरपर्दो सेवा प्रवाह गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गुणस्तरीय, सस्तो र भरपर्दो सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिनु भएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले सेवाग्राहीको चाहना र निजी क्षेत्रसँगको प्रतिस्पर्धामा अग्रणी रहिरहन पनि नेपाल टेलिकमले सबैभन्दा गुणस्तरीय, सस्तो र भरपर्दो सेवा प्रदान गर्नैपर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री भएपछि पहिलो पटक बिहीबार भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रिय कार्यालयको अनुगमन गर्ने क्रममा उहाँले मन्त्रालयसँग गरिएको कार्य सम्पादन सम्झौता अनुसार हरेक वडा तहसम्म इन्टरनेट सेवा विस्तारमा ढिलाई नगर्न पनि सचेत गराउनुभयो ।

‘मन्त्रालयसँग गरिएको कार्य सम्पादन सम्झौंता अनुसार नेपाल टेलिकमले वडा तहसम्मै इन्टर सेवा पु¥याउन ढिलाई गर्नु हुन्न,’ मन्त्री गुरुङले भन्नु भयो,‘ग्राहकको चाहनालाई ध्यानमा राखेर सबैभन्दा सस्तो र गुणस्तरीय सेवा नदिए नेपाल टेलिकमले निजी क्षेत्रसँगको प्रतिपर्धामा आफूलाई अग्रणी कायम राखिरहन सक्दैन ।’ मन्त्री गुरुङले सबै स्थानीय तहमा फोरजी सेवा विस्तार गर्ने योजना कार्यान्वयनको काममा केन्द्रित हुन पनि टेलिकमका पदाधिकारीहरुलाई सचेत गराउनुभयो ।

उहाँले ‘समृद्ध नेपाल ः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्न नेपाल टेलिकमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गर्नु भयो । सञ्चारमन्त्री गुरुङले सेवाग्राहीको हितलाई केन्द्रमा राखेर आफ्ना गतिविधि अघि बढाउन नेपाल टेलिकममा आवद्ध कर्मचारी संघ, संगठनलाई पनि आग्रह गर्नुभयो ।

उहाँले नेपाल टेलिकमको सेवालाई अब्बल बनाउन विभागीय प्रमुखहरुले नयाँ कार्य योजनाका साथ अघि बढनुपर्ने बताउनु भयो । मन्त्री गुरुङले सरकारी संस्थाहरु भ्रष्टाचार लगायतका गलत कार्यका कारण धरासायी बन्दै गएको उल्लेख गर्दै त्यसो हुन नदिने दृढता व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम संचालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले जनतामा खुसीयाली आउने गरी काम गर्न टेलिकमका कर्मचारीहरुलाई आग्रह गर्नु भएको थियो भने प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकमको विगत, वर्तमान र भावी योजनाबारे सञ्चारमन्त्री गुरुङलाई ‘ब्रिफिङ’ गर्नु भएको थियो ।


प्रकाशित | २० कार्तिक २०७७, बिहीबार १९:२२