अहिलेसम्म ३,५०० रुसी सैनिक मारिएको र २०० जनालाई बन्दी बनाइएको युक्रेनको दाबी

युक्रेन (किएभ) –  युक्रेनले अहिलेसम्म ३,५०० रुसी सैनिक मारिएको दाबी गरेको छ । युक्रेनले आफ्नो फेसबुक पेजमा पोष्ट गरेको विवरण अनुसार आक्रमणमा संलग्न ३,५०० भन्दा बढी रुसी सैनिक मारिएका र करिब २०० जनालाई बन्दी बनाइएको छ ।

रुसले हालसम्म १४ विमान, ८ हेलिकप्टर र १०२ ट्याङ्क गुमाएको पनि उनीहरूले दावी गरेका छन् । बीबीसीले यी मध्ये कुनै पनि दाबीलाई स्वतन्त्र रूपमा प्रमाणित भने भइनसकेको जनाएको छ । रुसले हालसम्म कुनै पनि हताहत नभएको जनाइरहेको छ ।

रुससँग आत्मसमर्पणको लागि आह्वान गरेको भन्ने अफवाहको खण्डन

त्यस्तै, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक भिडियो पोस्ट गर्दै रुससँग आत्मसमर्पणको लागि आह्वान गरेको भन्ने अफवाहको खण्डन गर्नु भएको छ ।

राष्ट्रपति जेलेन्स्कीले आफैँले खिचेको भिडिओ ट्विटरमा प्रेषित गर्दै आफूले सेनालाई रुससँग आत्मसमर्पण गर्न आह्वान गरेको भन्ने अफवाहको खण्डन गर्नु भएको हो । त्यस्तो अफवाहलाई निस्तेज पार्न किएभका सडकमा आफैँ गएर त्यो सन्देश दिनु भएको हो ।

‘मैले सेनालाई हतियार बिसाउन भनेको तथा ठाउँ छोड्ने क्रम सुरु भएको जस्ता निकै मिथ्या सूचनाहरू अनलाइनमा छन्’, उहाँले भन्नु भएको छ, ‘म यहीँ छु । हामी हतियार बिसाउँदैनौँ। हामी हाम्रो राष्ट्रको प्रतिरक्षा गर्छौँ ।’


प्रकाशित | १४ फाल्गुन २०७८, शनिबार १३:५१