मन्त्री रावलले गरे एकै दिन हुम्लाका दुई जना सुत्केरीको हेलिकप्टरबाट उद्धार

सुर्खेत : कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आफै हेलिकप्टर लिएर दुई जना सुत्केरीको उद्धार गर्नुभएको छ । मन्त्री रावल आफै हेलिकप्टर लिएर बुधबार दुई जना सुत्केरी महिलाको उद्धार गर्न सफल हुनुभयो । हुम्लाको चंखेली गाउँपालिका र अदानचुली गाउँपालिकाबाट सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको हो ।

चंखेली गाउँपालिकाको मेल्छम स्वास्थ्य चौकीमा कार्यरत अनमी दाङकी निशा नेपाली र अदानचुली गाउँपालिका–१, की राजकला महतारालाई सामाजिक विकास मन्त्रालयले उद्धार गरेको हो । महताराको साल निस्किएर बच्चा नजन्मिएपछि र नेपालीको गर्भपतन गराउँदा अत्याधिक रक्तश्राव भएकोले हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँमा उपचारका लागि ल्याइएको छ । कर्णाली प्रदेश सरकारले विकट ठाउँका लागि हेलिकप्टरको व्यवस्था गर्दै आएको छ । हालसम्म प्रदेश सरकारले २१ जनाको उद्धार गरिसकेको जनाएको छ ।


प्रकाशित | १८ बैशाख २०७६, बुधबार १७:३८