च्याम्पियन्स लिग: आज दुई ‘हेभिवेट’ बार्सिलोना र लिभरपुलबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

काठमाडौं : युरोपको सबैभन्दा ठूलो प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग फुटबलमा आजको सेमिफाइनलअन्तर्गत पहिलो लेगको खेलमा स्पेनिस बार्सिलोना र इंग्लिस टोली लिभरपुल प्रतिस्पर्धा हुँदैछ । यो खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ । दोस्रो लेगको खेल लिभरपुलको घरमा अर्को साता हुनेछ ।

प्रतियोगिताका दुई प्रमुख उपाधि दाबेदार टिम सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएकाले यो खेल सर्वाधिक आकर्षणका रुपमा हेरिएको छ । फाइनल पुग्न यी दुई टिमले एकअर्कालाई पन्छाउनुपर्ने हुन्छ ।

युरोपका दुई ‘हेभिवेट’ टिमको भिडन्त हुने हुँदा आजको खेल रोमाञ्चक हुनेमा शंका छैन । धरैले यस खेललाई यस सिजनको च्याम्पियन्स लिगको फाइनलसरह मानेका छन् । अर्को सेमिमा इंग्लिस टोली टोटनह्याम र डच टिम आयाक्सको प्रतिस्पर्धा छ । गत राति भएको सो खेलमा आयाक्सले टोटनह्यामलाई उसकै घरमा ०–१ हरायो ।

च्याम्पियनस लिगमा यी दुई टिम सन् २००७ पछि पहिलोपटक भिड्न लागेका छन् । त्यसबेला लिभरपुल र बार्सिलोना अन्तिम १६ मा भिडेका थिए, जहाँ लिभरपुलले बार्सिलोनालई समग्रमा २–२ को बराबरी भए पनि अवे गोलमा पछि पारेर आफू अन्तिम आठमा पुग्दा बार्सिलोना भने आउट भएको थियो । त्यसयता यी दुई टिम १२ वर्षपछि पहिलोपटक युरोपियन प्रतियोगितामा भेट भएका हुन् । यी दुई टिम हालसम्म यस प्रतियोगितामा कूल ८ पटक भिडेका छन् ।

आज आफ्नो घरमा उत्रिँदा पछिल्ला तीन सिजन लगातार अन्तिम आठबाटै आउट भएको बार्सिलोना गत वर्षको फाइनालिस्ट लिभरपुललाई हराएर फाइनलको बाटो सहज बनाउन चाहन्छ । त्यसका लागि आज बार्सिलोनाले आफ्नो घरमा जितका लागि कुनै कसर बाँकी राख्नेछैन ।  यस खेलका लागि बार्सिलोनाको टोलीमा पहिलो रोजाइका सबै खेलाडी उपलब्ध छन् । उसलाई चोट वा प्रतिबन्धको तनाव छैन । प्रतियोगिताको सेमिफाइनल र फाइनलमा कार्डको प्रतिबन्धको नियम हटाइएकाले यसको पिर दुवै टिमलाई छैन ।

यता, लिभरपुल आज क्याम्प नोउमा उत्रिँदा पहिलो रोजाइका खेलाडी लिएर उत्रिँदैछ । यसअघि मसलमा समस्या भएका ब्राजिलियन खेलाडी रोवर्ट फर्मिन्हो फिट हुँदै टोलीमा फर्किएकाले लिभरपुललाई ठूलो राहत मिलेको छ । अन्य सबै खेलाडी बार्सिलोनाविरुद्ध उत्रिन उपलब्ध छन् । अन्तिम आठमा बार्सिलोनाले इंग्लिस टोली म्यानचेस्टर युनाइटेड र लिभरपुलले पार्चुगिज पोर्टोलाई हराएर सेमिमा स्थान बनाएका थिए ।
खेल नेपाली समयअनुसार आज राति १२ः४५ बजेबाट क्याम्प नोउमा सुरु हुनेछ ।


प्रकाशित | १८ बैशाख २०७६, बुधबार १४:२८