नेपाल टेलिकमको खुद नाफा १८ प्रतिशतले बढ्यो

काठमाडौँ । चालू आर्थिक वर्ष २०७८\७९ को ६ महिना पुस मसान्त सम्ममा नेपाल टेलिकमको खुद नाफा १८.४९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा साढे १८ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद नाफा तीन अर्ब २८ करोड ९३ लाख रुपैयाँ थियो । जुन, यो वर्षको ६ महिनामा ६० करोड ८४ लाख ८१ हजार रुपैयाँले बढेर तीन अर्ब ८९ करोड ७८ लाख रुपैयाँ पुगेको हो ।

यस्तै, कम्पनीको कुल सञ्चालन आय पनि बढेको छ । गत वर्षको सोही अवधिमा १७ अर्ब ७२ करोड ४९ लाख रुपैयाँ रहेको सञ्चालन आय यो वर्षको ६ महिनामा १९ अर्ब २० करोड ७२ लाख रुपैयाँ पुगेको छ । यो, गत वर्षको यही अवधिको भन्दा १ अर्ब ४८ करोड रुपैयाँ बढी हो ।

यसका साथै, टेलिकमको कुल आय पनि १ अर्ब ४१ करोड ३२ लाख रुपैयाँले बढेको छ । गत वर्षको ६ महिनामा २० अर्ब ५७ करोड ५९ लाख रुपैयाँ कुल आय थियो । यो वर्षको ६ महिनामा ६.८७ प्रतिशतले २१ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ कुल आय पुगेको छ ।


प्रकाशित | २९ माघ २०७८, शनिबार १२:२४