बीमा समितिद्वारा नेपाल लाइफ इन्स्योरेन्सलाई कारवाही

काठमाडौं – बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सलाई कारवाही गदैँ जरीवाना गर्ने निर्णय गरेको छ ।  समितिका कार्यकारी निर्देशक एवंम प्रवक्ता राजुरमण पौडेलले विज्ञप्ति जारी गर्दै समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुृक्ति गरेको भन्दै इन्स्योरेन्सलाई दश हजार रुपियाँ जरीवाना गर्ने निर्णय गरेको जनाइएको छ ।

‘नेपाल लाइफ इन्स्योरेन्सले बीमा समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको भन्ने उजूरी समितिमा प्राप्त भएपश्चात् त्यस सम्बन्धमा कम्पनीबाट आवश्यक प्रतिवेदन÷विवरण झिकाई अध्ययन गर्दा सो कम्पनीले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धक पदमा नियुक्त गरी समितिबाट जारी निर्देशिकाको जानाजान उल्लङ्घन गरेको देखिएकोले जरिवाना गरिएको देखिएको छ’, समितिले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, बीमा समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १४ को उपदफा (९) मा भएको ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउने छैन’ भन्ने व्यवस्था विपरित नेपाल लाइफ इन्स्योरेन्सका विभिन्न १४ वटा समिति÷उपसमितिहरुमध्ये संचालक समितिका सदस्य कमलेश कुमार अग्रवाल ८ वटा र विमल ढकाल ३ वटा समिति÷उपसमितिहरुमा संयोजक रही समितिबाट जारी निर्देशनको जानीजानी उल्लङ्घन गरेकोले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम नेपाल लाइफ इन्स्योरेन्सलाई दश हजार रुपियाँ जरीवाना गर्ने निर्णय पनि समितिले गरेको छ ।


प्रकाशित | १४ माघ २०७८, शुक्रबार १५:१३