विगतको वीस वर्षमा भएको विकास आगामी तीन वर्षभित्र दोब्बरले बढी गर्नेछौ : सांसद महेश बस्नेत

भक्तपुर :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विगतको वीस वर्षमा भएको विकास भन्दा आगामी तीन वर्षमा हुने विकास त्यसको दोव्वर हुने बताउनुभएको छ ।

आज भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित पाइलट बाबा आश्रम घ्याम्पेडाँडा सिलामगाल सडक डिभिजन अन्तर्गतको सडक शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले अवको बताउनुभयो । उहाँले भक्तपुरमा विकासको महाअभियान नै सञ्चालन भइरहेको बताउँदै भक्तपुरको विकासमा स्थानीयवासीको विशेष सहयोग रहेको र आगामी दिनमा समेत निरन्तर सहयोगको आग्रह समेत गर्नुभयो ।

सांसद बस्नेतले भन्नुभयो, ‘भक्तपुरको विकासमा गाडीको गति प्रतिघण्टा २० किमिका दरले हुन्छ भने भक्तपुर विकास प्रति घण्टा ८०–९० किमिका दरले भइरहेको छ र यो गति निरन्तर रुपमा अघि बढ्छ । विकासको गतिमा सामान्य प्रकारका समस्याहरुलाई उठान गरी विकास निर्माणमा अवरोध गर्नु हुँदैन । समस्या आए छलफल तथा समझदारीको माध्यमबाट समाधान गर्नुपर्छ ।’

२४४ हेक्टरको प्राणी उद्यान केन्द्र बने पछि आर्थिक, पर्यटकीय, सांस्कृतिक लगायतमा सूर्यविनायक नगरपालिकाको मुहार नै फेरिने बताउँदै सांसद बस्नेतले भक्तपुरको नैचाल र काँक्रावारीमा इको भिलेज, इको टुरिजम, इको होम स्टेको रुपमा विकासित बनाउने कार्य शुरु गरेको जानकारी गराउनुभयो । उहाँले प्राणी उद्यान केन्द्रको वरीपरि १५ मिटरको रिङरोड बनाउने प्रकृया अघि बढेको बताउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले रानीकोटतर्फ जाने सडकमा पाँच करोड सडक टेण्डर भई शिलान्यासको प्रकृयामा रहेको जानकारी गराउँदै गुण्डुबाट तार्केश्वर आउने बाटो निर्माण कार्य तिव्र रुपमा अघि बढिरहेको बताउनुभयो । आशापुरी हुँदै काँक्रावारी जाने बाटोलाई ग्रामिण सडकमा पार्न पहल भइरहेको जानकारी गराउँदै उहाँले भक्तपुरका प्रत्येक वस्तीका सडक लिङ्क मूख्य सडकसँग जोडिने बताउनुभयो । सांसद बस्नेतले पाइलट बाबालाई विकसित बनाउँदै रमणीय क्षेत्रको रुपमा बनाउनुपर्ने बताउँदै यो वर्ष सडक विस्तार सम्पन्न पश्चता घ्याम्पेडाँडासम्म नियमित रुपमा गाडी चल्ने समेत जानकारी गराउनुभयो ।

विकासका क्रममा हिजो मेरो जग्गामा दुई भुरी भकै आउँथ्यो, अव एक मुरी मात्र आउँछ भनि सोच्ने हैन, त्यसवाट वस्तुको मूल्य कति भयो भनि आधुनिक तवरले हेर्नुपर्ने बताउँदै सांसद बस्नेतले भन्नुभयो, ‘विकासमा जसको घर छ उसैले लाभ लिने हो, अरु कसैले लिने हैन । पूर्ण रुपमा कसैको घरजग्गा क्षती भएमा सरकारले क्षतीपुर्ति दिन्छ । अनावश्यक झमेला गर्नुपर्दैन ।’

भक्तपुरलाई पर्यटकीय क्षेत्रको विकास गर्दै आर्थिक, सामािजक, सांस्कृतिक, धार्मिक लगायतको विकास र विस्तार गर्ने बताउँदै उहाँले भक्तपुरमा भ्यु टावर, बन्जी जम्प, विभिन्न प्रकारका पार्क, प्याराग्लाइडिङ् लगायतका पर्यटकीय आकर्षणका कायहरु निर्माणको प्रकृयामा रहेको बताउनुभयो । उहाँले अनन्तलिङ्गेश्वरमा जापानको झझल्को आउने गरी साकुरा पार्क बनाउने तयारी भइरहेको जानकारी गराउँदै पर्यटकीय विकास सँगै भक्तपुरमा असंख्य मात्रामा व्यापार व्यवसाय फस्टाउने, रोजगारीको सृर्जना हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो क्षेत्रमा विद्यालय स्थापना, खानेपानीको व्यवस्थापन तथा सडक विस्तारमा स्थानीयबासीको ठूलो योगदान रहेको छ । अबका दिनमा हुने विकासका काममा पनि तपाईहरुको सहयोग र सल्लाहको अपेक्षा गरेको छु ।’

एक करोड ४० लाखको लागतमा निर्माण कार्य शुरु गरीएको उक्त सडक शिलान्यास गर्दै सांसद बस्नेतले भक्तपुरमा खेर गएका साना साना ठाउँलाई पनि विभिन्न प्रकारका काममा प्रयोग गर्ने गर्दै समृद्धिको आधार तयार तिव्र रुपमा भइरहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुनादेवी बस्नेत, वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, भक्तपुरका डिई लगायतले विकास निर्माणमा कुनै समस्या सिर्जना गर्नु नहुने बताउँदै उक्त सडक निर्धारित समयभन्दा अघि नै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार १९:१४