भिजिट भिसामा दुबई पुर्याएर अलपत्र पार्नेहरूमाथि कारवाही हुने, वैदेशिक रोजगारमा जाँदा भिजिट भिसाको प्रयोग नगर्न आग्रह

काठमाडौँ– श्रममन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा दुबई पुर्याएर अलपत्र पार्ने दलालहरूमाथि कारवाही हुने बताउनुभएको छ । बिहीबार मन्त्रालयमा भिजिट भिसामा दुबई पुगेर अलपत्र परेका युवाहरूसँगको छलफलका क्रममा उहाँले त्यसरी अलपत्र पार्नेलाई कुनै हालतमा नछाड्ने बताउनु भएको हो ।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा जाँदा भिजिट भिसाको प्रयोग नगर्न आग्रह गर्दै भिजिट भिसामार्फत् दुबईलगायत श्रम गन्तव्य मुलुकमा पुगेर पीडित बनेकालाई सम्बोधन गर्न ‘मार्सल टिम’ गठन गरिएको जानकारी दिनुभयो ।

उहाँले आगामी आइतबारदेखि श्रम मन्त्रालयमा चौबिसै घण्टा फोन उठ्ने गरी गुनासो सुनुवाई कक्ष स्थापना गर्न लागेको बताउँदै गुनासोका आधारमा समेत दलालहरूलाई कारवाही हुने बताउनुभयो ।


प्रकाशित | १३ माघ २०७८, बिहीबार १८:२२