एनआरएनए उच्चस्तरीय समितिको म्याद १० दिन थपियो, ५ फेब्रुअरीभित्र डेलिगेट्सको सूची आइसिसीलाई बुझाउने निर्णय

काठमाडौं – गैर आवासीय नेपाली संघको उच्चस्तरीय समितिको म्याद १० दिन थपिएको छ । समितिको आज (मंगलबार) बसेको तेस्रो बैठकले आगामी ५ फेब्रुअरीभित्र डेलिगेट्सको विवाद टुंग्याउने गरि १० दिन म्याद थप्ने निर्णय गरिएको हो ।

यसअघि एनआरएनए आइसीसीको ८१ औं बैठकले संघभित्र देखिएको निर्वाचन सम्वन्धी विवाद समाधान गर्न प्रमुख संरक्षक डा. शेष घलेको संयोजकत्वमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त सदस्य रहने गरि ७ सदस्यीय समिति गठन गरेको थियो ।

आइसिसी बैठकले विवाद समाधान गर्न समितिलाई २६ जनवरीसम्मको समयसीमा तोकिएकोमा उच्चस्तरीय समितिले १० दिनको समय थपेको हो । समितिले गठन भएयता तीन पटक बैठक बसेकोमा आज बसेको बैठकले आगामी २८ फेब्रुअरी २०२२ मा तोकिएको संघको निर्वाचनलाई असर नपर्ने गरि ७ दिनभित्र समस्या समाधान गर्ने र थप तीन दिनभित्र आइसिसीलाई डेलिगेट्सको सूची बुझाउने निर्णय गरेको हो ।

समितिका एक सदस्यका अनुसार बैठकले आईटीसहितको एक विज्ञ टोली गठन गर्ने पनि निर्णय गरेको छ । साथै बैठकमा एनआरएनएभित्र देखिएको विवाद संस्थाभित्रै समाधान गर्नुपर्ने निस्कर्ष समेत निकालीएको छ ।

निकै सौहार्दपूर्ण रुपमा सम्पन्न बैठकले संघभित्र देखिएका विवादहरु एकएक गरि केलाएर आगामी दिनमा त्यस्ता विवाद आउन नदिने विषयमा समेत सबै एकमत देखिनु भएको थियो ।

निर्वाचन कमिटिलाई निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि बढाउन आग्रह

त्यस्तै, उच्चस्तरीय समितिको बैठक सम्पन्न भएसँगै अध्यक्ष कुमार पन्तले निर्वाचन कमिटिलाई निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै समितिको आज बसेको तेस्रो बैठकले आगामी ५ फेब्रुअरी भित्र अन्तिम निर्णयसहित डेलिगेट्सको सूची बुझाउने जानकारी गराउनु भएको छ ।


प्रकाशित | ११ माघ २०७८, मंगलवार २१:०४