मेस्सीबारे स्वारेजको यस्तो खुलासा

एजेन्सी: स्पेनिस बार्सिलोना ३ दिनअघि घरेलु लिग ला लिगको च्याम्पियन बन्यो । आफ्नो घरमा भएको खेलमा लेभान्टेलाई हराउँदै बार्सिलोना अन्तिम ३ खेल बाँकी छँदै यो सिजनको च्याम्पियन बन्यो । च्याम्पियन बनेपछि बार्सिलोनाका खेलाडी तथा अफिसियलले क्याम्प नोउमै खुसीयाली मनाए । उनीहरूले जारी सिजन ट्रिबेल उपाधि जित्ने अभियानमा एक सिँढी पूरा गरे ।ला लिगा जितेपछि बार्सिलोनाले बुधबार राति युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस टोली लिभरपुलसँग सेमिफाइनलको खेल खेल्दैछ । सो खेलका लागि बार्सिलोनाले लिभरपुललाई आफ्नो घरमा स्वागत गर्दैछ ।

सो खेलअघि बार्सिलोनाका उरुग्वेन फरवार्ड लुइस स्वारेजले आफ्ना सहकर्मी तथा टिमका कप्तान लिओनल मेस्सीबारे एक खुलासा गरेका छन् । च्याम्पियन्स लिगको खेलअघि बार्सिलोनाको अफिसियल टिभीसँग कुरा गर्दै उनले मेस्सीले ला लिगा जितेपछि टिममेटसँग यसपटक जसरी पनि च्याम्पियन्स लिग जित्ने–जिताउने बाचा गरेका छन् ।अन्तर्वार्ताक्रममा स्वारेजले यो खुलासा गरेका छन् कि, ला लिगा जितेपछि सोही दिन मेस्सीले खेलाडीसँग बसेर करिब आधा घन्टासम्म छलफल गरेका थिए । ‘ला लिगा च्याम्पियन बनेपछि उनले खेलाडीसँग छोटो बैठक गरे । त्यहाँ उनले बाँकी दुई उपाधि कसरी जित्ने भनेर योजना सुनाए,’ स्वारेजले भने, ‘उनले खेलाडीलाई उच्च मनोबलसाथ रहन पनि भने ।’

स्वारेजले यो बताएका छन् कि, मेस्सीले यसपटक टिमलाई युरोपियन च्याम्पियन बनाउने संकल्प गरेका छन् । ‘बार्सिलोनाबारे अरू के सोच्छन् थाहा छैन । तर, मेस्सी बार्सिलोनालाई च्याम्पियन्स लिग जिताउन दृढ छन्, हामीजस्तै । अहिले उनले साँच्चै दबाब महसुस गरिरहेका छन्,’ स्वारेजले भने ।स्मरण रहोस्, यो सिजन सुरु हुनुभन्दा अघि क्याम्प नोउमा आयोजित एक कार्यक्रममा बोल्दै मेस्सीले यसपटक जसरी पनि च्याम्पियन्स लिगको उपाधि क्याम्प नोउ फर्काउने बाचा गरेका थिए ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार १०:२३