प्रदेश २ को नाम ‘मधेस’ र स्थायी राजधानी ‘जनकपुरधाम’ कायम

जनकपुरधाम – प्रदेश २ को नाम मधेस र स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित भएको छ । सांसदहरु शैलेन्द्रकुमार यादव र भरतप्रसाद साहका तर्फबाट शैलेन्द्रकुमार यादवले मधेस प्रदेश कायम गरियोस् भन्ने प्रस्तावमा प्रदेशसभाको दुईतिहाइ मत परेको हो ।

कुल १ सय ४ सांसदमध्ये ९९ जना उपस्थित रहेका थिए । मधेस प्रदेशको पक्षमा ८० मत परेको थियो । यो प्रस्तावको पक्षमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र लगायत दलहरुको समर्थन रहेको थियो ।

कांग्रेसले मिथिला–भोजपुरा प्रस्ताव गरेको छ भने नेकपा एमाले र एकीकृत समाजवादी पार्टीले जानकी प्रस्ताव गरेका थिए । त्यस्तै बारा र पर्साका सांसदले मध्य मधेस नाम प्रस्ताव गरेका थिए ।

त्यस्तै आजै बसेको प्रदेशसभाको बैठकले स्थायी राजधानी जनकपुरधाम बनाउने प्रस्ताव पनि पारित गरेको छ । जनकपुरधामको पक्षमा ७८ मत खसेको थियो । यो कुल सांसदको दुईतिहाइ मत हो ।

प्रदेशको नाम र स्थायी राजधानी सिफारिस गर्न सभामुख सरोज यादव नेतृत्वको संसदीय समिति बनाइएको थियो । समितिले तीन वटा नाम प्रस्ताव गरेको थियो ।

पहिलो प्रस्ताव जनकपुरसहित पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यामिक परिक्रमा सडक, उत्तरमा ढल्केवर र दक्षिणमा नेपाल–भारतको सीमासम्म रहेको थियो ।

त्यस्तै बारा र पर्साका सांसदले वीरगञ्ज महानगरपालिका र वीरगञ्ज, सिमरा–जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्मको भूगोल समेटिएको दुईवटा प्रस्ताव थियो ।


प्रकाशित | ३ माघ २०७८, सोमबार १८:०८