फिजी र टोंगालगायतका मुलुकमा ज्वालामुखी विस्फोटपछि सूनामीको चेतावनी

एजेन्सी-सुभा–ं न्यूजिल्याण्ड, फिजी र टोंगासमेत केही देशहरुमा विशाल ज्वालामुखी विस्फोटपछि सूनामीको चेतावनी दिइएको छ । यो ज्वालामुखी विस्फोट समुद्रमा भएको बीबीसीले जनाएको छ । टोंगाबाट सामाजिक सञ्जालमा आइरहेका तस्वीहरुमा पानीको लहर चर्च र घरहरुमाथि पुगेको देखिएको छ । प्रत्यक्षदर्शीले टोंगाको राजधानी नुकुअलोफामा ज्वालामुखीबाट निस्केको खरानी जताततै देखिएको बताएका छन् । राजधानी वासीहरुलाई अग्लो स्थानमा जान अपील गरिएको छ ।

हुंगा टोंगा–हुंगा हापाई ज्वालामुखीमा भइरहेको हलचलपछि यो सबैभन्दा पछिल्लो विस्फोट हो । उता, फिजीको राजधानी सुभाका अधिकारीहरुले ५०० मिल टाढाको विस्फोटको आवाज ८ मिनेटसम्म सुनेको बताएका छन् । टोंगाको भूगर्भ विभागले ज्वालामुखीबाट निस्केको ग्यास, धुँवा र बादल अकाशमा २० किलोमिटरको उँचाइसम्म पुगेको बताएको छ । टोंगाको राजधानी हुंगा टोंगा–हुंगा हापाई ज्वालामुखीबाट मात्र ६५ किलोमिटर टाढा छ । अष्ट्रेलियाको मौसम विभागले १।२ मिटर उँचाइसम्म सूनामी आएको बताएको छ । हुंगा टोंगा–हुंगा हापाई ज्वालामुखीबाट २ हजार ३ सय किलोमिटर टाढाको न्यूजिल्याण्डमा पनि सूनामी आउने चेतावनी दिइएको छ ।

 


प्रकाशित | १ माघ २०७८, शनिबार १६:१२