संसदमा बाबुराम भट्टराईको सम्बोधन: बालुवाटार जग्गा विवादमा दोषी देखिए सजाय भोग्न तयार छु

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति संयोजक डा. बाबुराम भट्टराईले बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता भएको प्रकरणको जरैसम्म पुगेर छानबिन गर्नुपर्ने बताउनुभएको छ । सोमबार संसद बैठकमा सम्बोधन गर्दै त्यसमा नियतवश संलग्नता देखिएमा आफू पनि दण्ड स्वीकार्न तयार रहेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘व्यक्तिको नियत मात्र ठिक भएर हुँदो रहेनछ । यसको गम्भीरतापूर्वक छानबिन गरियोस् । हाम्रो संस्थाहरु कति बेकम्मा रहेछन् ? यदि यसमा कसैको पनि नियतवश संलग्नता आउँदो रहेछ भने हामीले दण्ड दिनुपर्छ र म दण्ड स्वीकार्न तयार छु ।’

उहाँले भन्नुभयो, सार्वजनिक सम्पत्तिको दोहन, वाईडबडी प्रकरण, तारागाउँ, बूढीगण्डकी, बालुवाटारको ललिता निवासको सार्वजनिक जग्गाका विषयमा एक अर्कालाई आरोप प्रत्यारोप गर्नुभन्दा पनि जरो कारण के हो त्यो ठम्याएर हल गर्न सकिएन भने त्यो पटक पटक बल्झिएर आउँछ ।’

सत्तारुढ दल र प्रतिपक्षी दल सबैमाथि भ्रष्टाचारको औंला उठेकाले एक अर्काको कोटमा बल फ्याकेर मात्रै समस्या समाधान नहुने उहाँले बताउनुभयो । ललिता निवास प्रकरणमा गलत निर्णय भयो भन्ने विषयलाई गम्भीरतापूर्वक छानबिन गरी भ्रष्टाचारको जरो उखेल्न आग्रह गर्नुभयो ।

 


प्रकाशित | १६ बैशाख २०७६, सोमबार १९:२०