एनआरएनए सचिवालयमा बोलाइयो चियापन कार्यक्रम

काठमाडौं –  गैर आवासीय नेपाली संघको विवाद उत्कर्षमा पुगिरहँदा अध्यक्ष कुमार पन्तले आज (मंगलबार) संघको मुख्य सचिवालयमा चियापन कार्यक्रमको आयोजना गर्नु भएको छ । अध्यक्ष पन्तले डिसेम्बर २८ अर्थात मंगलबार दिनको ४ बजे  चियापान कार्यक्रम आयोजना गर्नु भएको हो ।

अध्यक्ष पन्त आजै नेपाल आउने कार्यक्रम रहेको बताइएको छ । साथै अहिले एनआरएनएका धेरै पदाधिकारी, पूर्व अध्यक्षहरु, अग्रज तथा अभियन्ताहरु समेत काठमाडौंमा छन् । यसअघि कांग्रेस महाधिवेशनको क्रममा आएका र माओवादीको महाधिवेशनमा हाल आएका धेरै एनआरएनएका अग्रजहरुलाई समेट्ने उद्देश्यले  चियापन कार्यक्रम आयोजना गर्न लागिएको हो ।

एनआरएनएको पटक पटक मिति तोक्दा पनि प्रतिनिधि विवादका कारण निर्वाचन हुन नसकिरहँदा अध्यक्ष पन्तले आपसी सद्भावन कायम राख्ने र असमझदारीलाई हल गर्न सहज हुने उद्देश्यले चियापन कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

‘हाम्रा सबै गैर आवासीय नेपाली दाजुभाई दिदीबहिनीहरूलाई विनम्रताका साथ आह्वान गर्दछु कि हाम्रा मतभेदहरू त्यागेर हाम्रो प्यारो संघको उन्नतिको लागि एकताबद्ध हुन र हाम्रो नियामक निकायको परामर्श र मार्गदर्शनमा एकजुट भएर अगाडि बढ्नुहोस्। हामी चाँडै नै पारस्परिक परामर्श र सहमतिमा आईसीसीको निर्वाचन र एनआरएनएको अन्तर्राष्ट्रिय महाधिवेशन गर्नेछौं’, आमन्त्रण गरिएको पत्रमा भनीएको छ ।


प्रकाशित | १३ पुष २०७८, मंगलवार ०८:२१