एमसीसी संशोधन बिनानै पारित भए मुलुक द्वन्द्वमा फस्ने भीम रावलको चेतावनी

काठमाडौं – नेकपा (एमाले) का नेता भीम रावलले एमसीसी संशोधन बिनानै पारित भए मुलुक द्वन्द्वमा फस्ने चेतावनी दिनु भएको छ । नेता रावलले एमसीसी संशोधन विनानै संसदबाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरूको द्वन्द्व र संघर्षमा परिणत गर्ने चेतावनी दिनु भएको हो ।

शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका रावलले एमसीसी संसदबाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको औंल्याउँदै त्यसलाई रोक्न सबैले आवाज उठाउनुपर्ने बताउनुभयो ।

एससीसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनुपर्ने आवश्यकता औल्याउँदै रावलले एमसीसी सम्झौंता संशोधन गरेर भने अघि बढाउन आफू पनि सहमत रहेको बताउनुभयो । नेपालकै कतिपय नेताहरूले सो सम्झौता संशोधन विना नै अघि बढाउनुपर्छ भनेको देखेर आफूलाई आश्चर्य लागेको नेता रावलको भनाई छ ।

‘राष्ट्रिय स्वाधिनता कुनै पनि सर्तसँग सट्टपट्टा गर्न सकिँदैन, यदि कोही पनि नेपाली देशभक्त छ भने एमसीसीको विरुद्धमा उभिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘यो सम्झौता संशोधन भयो भने सोचौंला भने त्यतिबेलै भनेका थिए ।’

 

 

 


प्रकाशित | १० पुष २०७८, शनिबार १९:०९