गैर आवासीय नेपालीलाई लक्षित गर्दै ६ विभिन्न विदेशी मुद्राका खाता सञ्चालन

काठमाडौं – ग्लोबल आइएमई बैंकले गैर आवासीय नेपाली तथा उनीहरुद्वारा प्रवद्र्धित विदेशस्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका खाता सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दती निक्षेप खाता हुन्।

अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, यूरो, अष्ट्रेलियन डलर, युआन र जापानिज येनमा खोल्न सकिने एनआरएन एफसीवाई बचत तथा मुद्दती खातामा आकर्षक ब्याजदर दिने बैंकले जनाएको छ।

नेपाल सरकारले हालै गैर आवासीय नेपाली र उनीहरुबाट प्रवद्र्धित संस्थाले नेपाली बैंकमा अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, जापनिज येन र चिनिया युआनमा मुद्दती एवं वचत खाता खोल्न, विदेशी मुद्रामै आफ्नो वचत लैजान तथा न्यूनतम ५ हजार अमेरिकी डलर वा सो बराबरको वचत गर्न सक्ने व्यवस्था घोषणा गरेको थियो ।

बैंकका अनुसार यो खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा न्यूनतम मौज्दात कायम हुनुपर्नेछ। खातावाहकलाई कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा छुट दिइने बैंकले जनाएको छ ।

बैंकका अनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायत शुल्कमा छुट तथा खातावालको परिवारलाई घर कर्जा तथा सवारी कर्जा दिँदा शुल्कमा विशेष छुट दिनेछ।

अनलाइनबाट पनि खोल्न मिल्ने खातामा सञ्चालकहरुलाई विदेशी मुद्रा नेपालीमा सटही गर्नु परेमा विशेष प्रिमियम प्रदान दिइने बैंकले जनाएको छ । साँवा तथा आर्जन गरेको ब्याज रकम सोही मुद्रामा फिर्ता गर्नु परेमा सहज रुपमा निःशुल्क गर्न सकिने बैंकले जनाएको छ ।


प्रकाशित | ६ पुष २०७८, मंगलवार ११:४५