नेपाल आउनेले ७ दिन क्वारेन्टिन बस्नु नपर्ने, सरकारले सच्यायो निर्णय

काठमाडौं – पर्यटन व्यवसायी र अन्यको समेत विरोध भएपछि विभिन्न ६७ देशबाट नेपाल आउनेले अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय सरकारले सच्याएको छ । अब तत्काल सो निर्णय कार्यान्वयन नहुने अध्यागमन विभागले जनाएको छ ।

कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको थियो।

शुक्रबार साँझ विभागले विज्ञप्ति जारी गर्दै अमेरिका, मलेसिया, थुप्रै युरोपेली मुलुकहरूसहित ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको थियो।

तर अर्को सूचना जारी नभएसम्म क्वारेन्टिन बस्नु नपर्ने अध्यागमनले शनिबार जनाएको छ । तर, कोभिड मापदण्डसम्बन्धी अन्य नियमहरु पनि यथावत रहने अध्यागमनको सूचनामा उल्लेख छ । क्वारेन्टिन बस्नुपर्ने नियमको पर्यटन व्यवसायीले विरोध जनाएका थिए ।


प्रकाशित | ३ पुष २०७८, शनिबार १२:००